बजारबाट तरकारी लैजाने गाउँमा करोडको तरकारी उत्पादन



    ज्ञानमणि नेपाल कालोटोपी
    राम्चेबेंसी,काभ्रे
जिल्लाको मण्डनदेउपुर नगरपालिका ११, जैसीथोकस्थित राम्चेबेंसीका करिब दुईसय कृषक पछिल्ला दिनमा तरकारी खेतीतर्फ भएकै कारण वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।
परम्परागत रूपमा गरिने कृषि प्रणालीबाट लगानी बढी र फाइदा कम हुन थालेपछि यहाँका कृषक अहिले आधुनिक किसिमको तरकारी खेतीतर्फ लागेका हुन्। उनीहरू यसतर्फ लागेको करिब २ दशक भयो। आफ्ना अधिकांश खेतबारीमा गोलभेंडा, आलु, घिरौंला, काउली, बन्दा, बोडी, करेला, भन्टालगायतका तरकारी रोपेर यहाँका कृषक अहिले प्रतिपरिवार वार्षिक १ देखि ६ लाख रुपियाँसम्म कमाउन सफल भएका छन्।
तरकारी खेती नगर्दाका दिन यहाँका लागि अत्यन्त कष्टकर थिए। पहिले तरकारी खेती गर्नुपर्छ भन्ने नजान्दा काठमाडौंको कालीमाटीबाट काउली किनेर गाउँ लैजाने कृषक अहिले दैनिक २ टन तरकारी बेच्न गाउँबाट कालीमाटी आउने गर्छन्।
जैसीथोकका कृषक काशिनाथ न्यौपानेले तरकारी खेती गर्न थालेको अहिले १५ वर्षभन्दा बढी भयो। आफ्नो भएभरको सबै जग्गामा तरकारी रोपेर वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएका उहाँको जग्गामा बाह्रै महिना तरकारी मात्र देख्न पाइन्छ। तरकारी खेती गरेकै भरमा उनले पाँच रोपनी जग्गा पनि जोड्न सफल हुनु भएको छ। उहाँ भन्छन्–‘म तरकारीखेती गर्नकै लागि जन्मिएको हुँ जस्तो लाग्छ।’
तरकारी खेतीतर्फ किसान आकर्षित भए पनि त्यसका निम्ति यस क्षेत्रमा धेरै समस्या पनि छन्। मुख्यरूपमा सिंँचाइको समस्या छ भने तरकारी खेतीमा विभिन्न खालका रोगको संक्रमण पनि उतिकै चुनौती थपिएको छ। समय–समयमा हुने  रासायनिक मलको अभावले पनि कृषकलाई अप्ठ्यारो पार्ने गरेको छ। ताथापि, कृषक निराश छैनन्। गाउँबाट करिब ६ सय मिटर तल रहेको चाखोलाको पानी इलेक्ट्रिक पम्पसेटबाट तानेर सिँचाइ गर्दै आएका उनीहरूका लागि यसमा कसैले पनि सहयोग गरेका छैनन्। कतिपयले आफ्नै लगानीमा सिँचाइ पोखरी निर्माण गर्दै वर्षायाममा परेको पानी संकलन गरेर सुख्खायाममा पनि तरकारी खेती गर्दै आएका छन्।
सिँचाईका लागि सहज भए तरकारी खेती गर्न अझ सजिलो हुने अर्का कृषक हरिप्रसाद सापकोटाको भनाइ छ। तरकारी ढुवानी गरेर बजार लैजान भने यहाँ खासै समस्या छैन। गाउँसम्मै गाडी पुग्छ। यहाँ उत्पादित तरकारीमा अलि बढी मात्रामा विषादी प्रयोग हुने गरेको जनगुनासो पनि आउने गर्छ। तरकारी खेतीमा विभिन्न किसिमका रोगको संक्रमण पछिल्ला दिनहरूमा वढ्न थालेपछि विषादीको प्रयोग बढाउन बाध्य भएको कषकले स्वीकार गरेका छन्।
यस गाउँबाट प्रभावित भएर अहिले जिल्लाका चण्डेनीमण्डन, कुन्ताबेसी, पाँचखाल, आँपघारी, नालालगायतका कृषक पनि तरकारी खेतीतिर आकर्षित भएका छन्। राजधानीको बजारमा काभे्र जिल्लामा उत्पादन भएको तरकारीले अहिले करिब ३५ प्रतिशत स्थान ओगटेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्