कालीमाटी बजार विस्तार योजना अलपत्र



हेमन्त जोशी, काठमाडौं

सीमित ठाउँमा उपभोक्ता र व्यवसायीको बढ्दो चापले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार बिस्तार कार्य बजेट अभावका कारण अलपत्र परेको छ।

बजारलाई दुई वर्षभित्र थप तीन स्थानमा बिस्तार गर्ने कृषि विकास मन्त्रालयको लक्ष्य भए पनि चोभारमा बाहेक अन्य दुई स्थानमा काम अगाडि बढ्न सकेको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार समितिले काठमाडौंको चोभार, बालाजु र धादिङको नौबिसेमा दुई वर्षभित्र आधुनिक र व्यवस्थित बजार निर्माण गर्ने योजना बनाएको छ। चोभारमा बजार विस्तार कार्य निर्माणको प्रारम्भिक चरणमा रहेको छ भने बालाजु र नौबिसेमा काम शुरू हुन सकेको छैन।

बालाजुमा तरकारी बजार विस्तारका लागि जग्गा उपलब्ध हुन नसकेको र नौबिसेमा निर्माणका लागि बजेट अभाव भएपछि चोभारमा मात्र काम अघि बढेको निर्देशक पौडेलको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले भन्नुभयो– ‘कालीमाटी बजारको शाखा विस्तारको कार्यलाई अघि बढाउन चोभारमा निर्माणको काम भइरहेको छ भने बालाजुमा जग्गा प्राप्तिका लागि हामीले पहल गरिरहेका छौं।’

कृषि बजारको पहिचान र विशेषता कायम गर्न चोभारमा बनिरहेको बजार फलफूल तथा पुष्पमा केन्द्रित हुनेछ। त्यसैगरी बालाजुमा मत्स्य तथा कृषि व्यवसायमा केन्द्रित हुनेछ भने नौबिसेमा कृिष बजार निर्माणका लागि योजना निर्माण गरिएको छ। नौबिसेमा कृषि उपज बजार निर्माणका लागि चालू आर्थिक वर्षमा नै बजेट माग गरिए पनि प्राप्त हुन नसेपछि कालीमाटी फलफूल तथा तरकारी बजारको आन्तरिक बजेटमार्फत् काम शुरू गर्ने तयारी गरिएको थियो। तर, कालीमाटीमै बजार व्यवस्थापनका लागि रकम खर्च भएपछि नौबिसेमा बजार निर्माणका लागि रकम अभाव भएको हो।

बालाजुमा रहेको मत्स्य विकास निर्देशनालयको जग्गामा आधुनिक कृषि बजार विस्तारका लागि निर्देशनालयसँग छलफल जारी रहेको पौडेलले बताउनुभयो। मत्स्य अनुसन्धान केन्द्रलाई तराईको क्षेत्रमा स्थानान्तरण गरेर मत्स्य तथा कृषि बजार निर्माण गर्ने तयारी रहेको उहाँको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजारले उपभोक्ताको चापलाई धान्न नसक्ने भएको तथा उपभोक्ता र व्यवसायीको सहजतालाई ध्यानमा राख्दै शाखा विस्तार गर्ने तयारी गरिएको हो।

विभिन्न ठाउँमा आधुनिक र व्यवस्थित कृषि बजार स्थापना गर्दा कालीमाटी फलफूल तथा तरकारी बजारमा चाप कम हुने र व्यवसायी तथा ग्राहक दुवै लाभान्वित हुने भएकाले शाखा विस्तारलाई जोड दिइएको पौडेलको भनाइ छ।

कृषि विकास मन्त्रालयले सबै बजार आगामी आर्थिक वर्षको अन्तिमसम्म निर्माण भइसक्ने गरी योजना बनाइएको थियो। तर, चोभारमा बाहेक अन्य ठाउँमा बजार निर्माणका काम योजना निर्माणको प्रारम्भिक चरणमै अल्झिएको हो।

नौबिसेमा सरकारी स्वामित्व रहेको साढे चार रोपनी जग्गामा आगामी चालू आर्थिक वर्षभित्रै बजार निर्माण पूरा गर्ने समितिको लक्ष्य थियो। उक्त बजार निर्माणका लागि बजेट पर्याप्त नभएपछि काम अगाडि बढ्न सकेको छैन।

चोभारमा कुल ३७ करोड रुपियाँको लागतमा बजारको भौतिक संरचना निर्माणको क्रममा रहेको छ। २३ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको बजार अबको एक वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। बाहिरी चक्रपथ निर्माणसँगै बजार पनि विस्तार हुने भएकाले व्यवसायी र ग्राहकलाई बजार पहुँचमा सहज हुने देखिन्छ।

कालीमाटी बजारमा स्थान अभाव हुँदा उपभोक्ता र बिक्रेतालाई अप्ठ्यारो हुँदै आएको छ। निर्देशक पौडेलका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारको पनि आन्तरिक व्यवस्थापन गर्ने तयारीमा समिति लागेको छ। करिब दुई दशक अघि निर्माण भएको भौतिक संरचनाले दैनिकजसो बढिरहेका व्यवसायी र ग्राहकलाई धान्न मुश्किल हुँदै आएको छ। कालीमाटी तरकारी बजारको भौतिक संरचनालाई अब एकीकृतरूपमा पुनर्निर्माण गरिने पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्