लोप्पा खानेको लर्को



प्रदेश सरकार गठनमा मनोमानी भएको असन्तुष्टि पोख्दै प्रदेश–६, मुगुका एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएछन्। मन्त्रिपरिषद् गठनमा ठूलै आर्थिक चलखेल भएको, पार्टीमा भर्खरै प्रवेश गरेका र महत्त्वपूर्ण जिम्मेवारीमा नभएकाहरूले सभामुख र मन्त्री बन्ने अवसर पाएको उनको तर्क छ।

केही समयअघि राप्रपा र जनमोर्चाबाट एमाले प्रवेश गरेका फटाफट मन्त्री भएपछि शाहीलाई असन्तुष्टिको पारो निकै चढेछ क्यार, पार्टीको साधारण सदस्य पनि नरहने गरी राजीनामा ठोक्ने रे। मुगुमा एमालेबाट चुनाव जित्ने कमरेड पहिलो व्यक्ति पनि हुन्। २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका शाही हाल पार्टीको केन्द्रीय सल्लाहकार सदस्यसमेत हुन्।

प्रदेशमा मन्त्री नै नभए पनि सभामुख त पक्का हुन्छु भन्ने कमरेडलाई लाग्या थ्यो रे। १५ वर्षसम्म जिल्लामा पार्टी प्रमुख भएको र अन्य जिम्मेवारीका आधारमा उनले त्यस्तो अपेक्षा गर्नु स्वभाविकै हो भन्ने धरहरालाई लाग्या छ। तर पार्टीले राम्रैसँग लोप्पा खुवाएपछि कसको के नै लाग्छ र हैन ?

प्रदेश–३ मा पनि त मुख्यमन्त्री पक्कापक्की हुने भनिएकी शाक्य थरकी नेतृलाई पार्टीले लोप्पा खुवाएपछि आफूलाई पनि त्यस्तै हुन सक्छ है भनेर कमरेडले बेलैमा सोच्नुचाहिँ पथ्र्यो भन्ने धरहरालाई लाग्या छ। मुलुकको राजनीतिको परिभाषा राम्रैसँग बदलिएको छ। निष्ठा र त्यागको राजनीति गर्ने कमरेडहरूलाई पनि चेतना भया।

प्रतिक्रिया दिनुहोस्