३० प्रतिशत महिलामा आङ खस्ने समस्या



शर्मिला बुढाथोकी

दोलखा विगु गाउँपालिका–५ लादुकको बालकुमारी भुजेलको उमेर ८४ वर्ष भयो। भर्खरै मात्र आङ खस्ने समस्याको उपचार गराउनुभएकी बालकुमारी ४० वर्षदेखिको पीडा बिसाउन पाएकोमा दंग हुनुहुन्छ। त्यस्तै ४० वर्षकै उमेरबाट आङ खस्ने समस्याले पीडित बन्नुभएको बालकुमारीले चेतनाको अभाव, लाज, स्वास्थ्य चौकीको समस्या जस्ता कारणले लामो समय पीडा सहेर बस्नुपरेको दुःखेसो गर्नुभयो। ‘उपचार गर्नुअघिसम्म मलाई हिँड्न, बस्न र पिसाब गर्न साह्रै समस्या हुन्थ्यो’, बालकुमारीले भन्नुभयो– ‘अहिले अप्रेसनपछि भने आनन्द भएको छ।’

दोलखा मेलुङ गाउँपालिका–६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको अप्रेसन गरेको पनि ७ वर्ष भयो। वृद्धा अवस्था र पाठेघरको अप्रेसन गरेको कारण रमादेवीलाई अहिले हिँडडुल गर्न, बस्न र सानोतिनो घरको काम गर्नसमेत समस्या हुने गरेको छ। ६ वर्षको उमेरदेखि नै विवाहका लागि प्रस्ताव आउने गरेको थियो तर विवाह भने १३ वर्ष (६२ वर्षअघि) मा भयो’, रमादेवीले भन्नुभयो– ‘सानै उमेरमा विवाह गरेकै कारण आङ खस्ने समस्याले पीडित भएपछि पाठेघरको अप्रेसन गर्नुपर्यो र अहिले यो समस्या झेलिरहेको छु। सानै उमेरमा विवाह गरेर ७ सन्तानलाई जन्म दिनुभएको चापागार्इं सुत्केरी हुँदा राम्रो खानपानको व्यवस्था पनि नभएको र कामसमेत छिट्टै गर्नुपर्ने भएकाले आङ खस्ने समस्या निस्किएको बताउनुहुन्छ। युवा अवस्थामै आङ खस्ने समस्याले पिरोलेपछि धेरै दुःख पाएको उल्लेख गर्नुहँुदै चापागार्इं अप्रेसन गरेर पाठेघर निकालेपछि भने केही सजिलो भएको बताउनुहुन्छ।

कालिञ्चोक गाउँपालिकाको सुन्तली थामीले पनि १२ वर्षकै उमेरमा विवाह गर्नुभयो। १६ वर्षमा पहिलो सन्तानको आमा बन्नुभएकी सुन्तलीको पनि सात सन्तान छन्। चेतनाको अभावले सानै उमेरमा विवाह भएपछि थुप्रै समस्या झेल्नुपरेको उहाँको भनाइ छ। सानो उमेरमै विवाह गरेका कारण पाठेघरको संक्रमणले बेला–बेलामा थलिनुपरेको पीडा सुनाउँदै थामी भन्नुहुन्छ– ‘बच्चा जन्मिएपछि पाठेघरबाट सेतोपानी बग्ने, संक्रमणका कारण हिँडडुल गर्न र काम गर्न अप्ठेरो हुने, कहिलेकाहीं रक्तश्रावसमेत हुने समस्या भएको थियो तर लाजले उपचार गराउन सकिनँ र आङ खस्ने समस्याबाट पीडित भएँ।’ पछि छोराछोरी ठूला भएपछि उनीहरूले नै उपचार गर्न लगेको सुन्तलीले बताउनुभयो।

आङ खस्ने समस्याबाट पीडित बालकुमारी, सुन्तली र रमादेवी दोलखाको प्रतिनिधि पात्र मात्र हुन्। विशेष गरी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिला आङ खस्ने समस्याबाट पीडित रहेको तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले गरेको स्क्रिनिङबाट जिल्लामा झण्डै ३० प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित रहेको देखिएको छ। दोलखामा अधिकांश महिला पाठेघरको संक्रमणबाट पीडित रहेको पाइएको र त्यसपछि पिसाबको समस्या र आङ खस्ने समस्याबाट पीडित देखिएको प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल बताउनुहुन्छ। जिल्लामा आङ खस्ने समस्या धेरै देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०७४⁄०७५ मा मात्र ४ वटा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दोलखाको सुन्द्रावती, जँगु, काब्रे र भेड्पुमा आयोजना गरिएको शिविरमा २ सय ३४ जना महिलाले पाठेघरको जाँच गराएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले बताउनुभयो। उक्त शिविरमा ६२ जना महिलाको पाठेघर खसेको पाइएको उहाँको भनाइ छ। जसमा पहिलो डिग्रीको १२ जना, दोस्रो डिग्रीको २७ जना, तेस्रो डिग्रीको १५ जना र चौथो डिग्रीको ८ जना भेटिएको उहाँले बताउनुभयो। शिविरमा ५० वर्षभन्दा माथिका पाठेघर खसेर अप्रेसन गरिसकेका ८ जना महिलामा पाठेघरको भित्ता खस्ने समस्यासमेत पाइएको लिङ्थेपले बताउनुभयो।

के हो आङ खस्ने समस्या ?
किन हुन्छ ?

आङ खस्ने समस्या भनेको पाठेघर आफ्नो ठाउँबाट सर्नु हो। अर्थात् पिसाबथैली पिसाब तथा दिसानली अड्याएर राख्ने मासंपेशी खुकुलो तथा कमजोर भएर आफ्नो ठाउँबाट सर्ने समस्या हो। जसका कारण महिलालाई हिँड्न, बस्न, दैनिक कार्य गर्न समस्या हुने गर्छ। कम उमेरमा विवाह गर्नु, धेरै बच्चा जन्माउनु, जन्मान्तर नहुनु, सुत्केरीमा आराम गर्न नपाउनु, गरुङ्गो भारी बोक्नु, मांसपेशी कम्जोर हुनु र पहिलेदेखि नै पाठेघर ठीक ठाउँमा नहुनु जस्ता कारणले आङ खस्ने समस्या देखिने जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अर्चनाले बताउनुभयो।

महिलालाई पाठेघर
बाहिर आएजस्तो लाग्ने, पिसाब

गर्न समस्या हुने, सेतोपानी बग्ने जस्ता लक्षण देखियो भने आङ खस्ने समस्या भएको हुन सक्ने डाक्टर अर्चनाको भनाइ छ।

बालविवाह गर्दा प्रजनन अंग परिपक्व भइनसक्ने हुनाले शारीरिक सम्पर्क, गर्भधारण जस्ता कुरामा समस्या हुने र रक्त अल्पता जस्ता रोग लाग्ने तथा पोषणको समस्या, कामको बोझले पछि आङ खस्ने जस्ता शारीरिक समस्यासमेत आउने डा. मीना मर्हजनको भनाइ छ। आङ खस्ने समस्यामा कतिपय महिला लाजले उपचार गर्न नजाने र त्यस्तो अवस्थामा क्यान्सरको जोखिमसमेत बढ्ने डा. मीना मर्हजन
बताउनुहुन्छ।

उपचारमा ढिलाइ
ग्रामीण महिलामा आङ खस्ने समस्या देखिए पनि समयमै उपचारका लागि नजाउने कारण अवस्था थप जटिल हुने गरेको सरोकारवालाहरूको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय दोलखाको पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेप लाज, स्वास्थ्य समस्याभन्दा कामलाई बढी प्राथामिकता दिने, उपचार हुन्छ कि हँुदैन भन्ने जानकारी नहुनुजस्ता कारणले ग्रामीण महिला लामो समयदेखि आङ खस्ने समस्या भए पनि उपचारका लागि नजाउने र धेरै समस्या भएपछि मात्र जाने गरेको बताउनुहुन्छ। ढिला गरी उपचारका लागि जाने भएकाले उपचारमा समेत कठिनाइ हुने गरेको लिङ्थेपको भनाइ छ।

दोलखा जुँगुको ७० वर्षीय एक महिला २६ वर्षदेखि आङ खस्ने समस्याबाट पीडित भए पनि लाजकै कारण उपचारका लागि नगएको भेटिएको तथा भेड्पुकी ६२ वर्षीय एक महिला लामो समयदेखि समस्या भए पनि कार्यबोझकै कारण उपचारका लागि नगएको पाइएको लिङ्थेपले बताउनुभयो।

अप्रेसनपछि झन् समस्या
आङ खस्ने समस्या चौथो चरणमा पुगेपछि उपचारका लागि जाने र उनीहरूको अप्रेसन गर्दा झन् समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। अप्रेसन गरेपछि आवश्यकताअनुसार आराम नगरी गह्रौं भारी बोक्ने तथा पौष्टिक आहाराको विषयमा ध्यान नदिँदा पाठेघरको भित्ता खस्ने समस्या देखिएको सिर्जना लिङ्थेपले बताउनुभयो।

पाठेघरको भित्ता खस्ने समस्या भएपछि हिँड्दा अप्ठेरो हुने, भित्ताको मासंपेशी तानिँदा पिसाब, दिसानली तानिने र यसले गर्दा पिसाब चुहिने समस्या देखिने भएकाले बिरामीले थप समस्यासमेत व्यहोर्नुपरेको लिङ्थेपको अनुभव छ। पाठेघरको भित्ता खस्ने समस्या देखियो भने यसको उपचार विधि महँगो र झन्झटिलो हुने र स्वास्थ्यकर्मीको अभावका कारण उपचार पनि धेरै ठाउँमा नहुने उहाँले बताउनुभयो।

दोलखामा किन बढी छ यो समस्या
दोलखामा आङ खस्ने समस्या बढी देखिनुमा चेतनाको अभाव प्रमुख कारण रहेको सरोकारवालाहरूले बताएका छन्। दोलखाको ग्रामीण क्षेत्रमा लामो समय सेवा गर्नुभएको डा. मीना महर्जन ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाहको समस्या रहेको, महिलालाई कामको बोझ धेरै हुने गरेको, अधिकांश ग्रामीण महिलामा चेतनाको अभाव रहेकाले पाठेघरको संक्रमणको विषयमा सचेत नहुने, आङ खस्ने समस्या भनेको के हो भन्ने विषयमा समेत धेरै महिला अनभिज्ञ रहेकाले पनि दोलखामा आङ खस्ने समस्या धेरै
देखिएको बताउनुहुन्छ।

नेपाल सरकारको नीति
सरकारले सकेसम्म आङ खस्ने समस्यालाई प्राथमिक तहमा नै समाधान गर्न चेतनामूलक अभियान, तालिम, गोष्ठी र ग्रामीणस्तरमा छलफल कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आङ खस्ने समस्याबाट पीडित महिलाको अप्रेसन गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरूको ख्याल नगर्दा भित्ता खस्ने समस्या देखिएकाले सकेसम्म स्लिकन रिङ प्रेसरी राखीदिने नीतिसमेत ल्याएको छ। जसका लागि यो विधिलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लाको विभिन्न स्वास्थ्य चौकीका आर्थिक वर्ष ०७४⁄७५ मा ४५ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको छ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघर खसेको छ वा छैन पत्ता लगाई कुन डिग्रीको छ सोहीअनुसार एक्ससाइज वा रिङ प्रेसरी राख्ने वा शल्यक्रिया नै गर्नुपर्ने भन्ने विषयमा जानकारीसहित उपचार गर्ने वा माथिल्लो स्वास्थ्य संस्थामा पठाउने गर्दछन्।
(लेखकः पत्रकार महासंघ दोलखा शाखाको पार्षद् हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्