बलात्कारी र हत्यारालाई ४ पटक फाँसी



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले गत महिना ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा आइतबार १ जना २४ वर्षीय इमरान अलीलाई ४ पटक फाँसीको सजाय सुनाएको छ। गत ९ जनवरीमा लाहोरको दक्षिण भागमा पर्ने कासुर शहरनजिक फोहर फाल्ने स्थानमा जैनाव अन्सारीको शव फेला परेको थियो।

उनको हत्यालाई लिएर राष्ट्रव्यापी विरोध र आक्रोश फैलिएको थियो। प्रहरीको अक्षमतालाई लिएर भएको दंगा र प्रदर्शनमा २ जनाको ज्यान गएको थियो। कडा सुरक्षा प्रबन्धबीच पीडितका पितालाई फाँसीको निर्णय सुनाउन अदालत लगिएको थियो।

जैनावका हत्यारा सो क्षेत्रका अनय बालिकाहरूको हत्या र यातनामा पनि संलग्न रहेको प्रहरी र पञ्जाव प्रान्तका मुख्यमन्त्रीले बताएका छन्। कम्तीमा १ वर्षदेखि उनको अपराध गतिविधि चल्दै आएको र प्रहरीले समयमै इमरानलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दाले आलोचना गरेका छन्।

सरकारी वकिल एहतिसाम कादिर शाहले इमरानमाथि बाँकी मुद्दा पछि चलाइने रोयटर्स समाचार निकायलाई बताएका छन्। उनीविरुद्ध दर्जनौं साक्षीले बयान दिएका थिए भने डीएनए र पोलिग्राफ परीक्षणजस्ता फोरेन्सिक प्रमाण पनि पेस गरिएको थियो। इमरानले अपराध कबुल गरेपछि उनका वकिलले मुद्दाबाट हात झिकेको थिए। उनले १५ दिनभित्र यो निर्णयविरुद्ध अपिल गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्