मागीभन्दा भागी विवाह गर्ने बढी, मकवानपुरमा बढ्दै किशोरी आमा



रोशन पराजुली⁄हेटौंडा

सरकारले आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउने मूल उपाय भनेकै बिहेवारी २० वर्ष पारि भन्दै कानुनीरूपमै विवाहको उमेर बढाउने कानुन लागू गरिरहँदा मागी या भागी विवाह १५ देखि १६ वर्षमै हुने क्रम बढ्नु कानुन कार्यान्वयनका लागि निकै ठूलो चुनौतीको विषय बन्दै छ। यति मात्र नभई आमा र बच्चाको मृत्युदरमा कमी ल्याउन नसक्नु अर्को समस्याको मूल कारण उमेर नपुग्दै हुने विवाह भएको पनि सरकारले स्वीकारी रहेको छ। यस्तो अवस्थामा विवाहलाई सामाजिक परिबन्ध र क्षणिक आवेगमा निर्णयमा पुग्नेहरूको संख्यामा कमी ल्याउन नसक्नु अर्को ठूलो चुनौतीको विषय बनेको छ।

मकवानपुरमा २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुने क्रम बढ्दो देखिएको छ। हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाको तथ्यांकले यस्तो देखाएको हो। अस्पतालमा पुस महिनामा मात्र अधिकांश जनजाति समुदायका २० वर्षमुनिका २६ किशोरी र माघ महिनामा २० जना किशोरी आमा बनेका छन्।

यस्ता सुत्केरी हुनेमा १ जना १५ वर्षकी थिइन्। ३ जना १६ वर्षका, ४ जना १७ वर्षका, ८ जना १८ वर्षका र १९ वर्षका १० जना किशोरीले अस्पतालमा सुत्केरी गराएका छन्। २०–३० वर्ष उमेर समूहका सुत्केरी हुनेको संख्या १ सय ३८ र ३०–४० वर्ष उमेर समूहमा सुत्केरी हुनेको संख्या २५ जना रहेको देखिन्छ। सानै उमेरमा गरिएको विवाह र अपरिपक्व अवस्थामा सुत्केरी हुँदा शिशु र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असर देखिने हेटौंडा अस्पतालका प्रसूति तथा महिला रोग विशेषज्ञ डा. निशा राई बताउनुहुन्छ। उहाँका अनुसार किशोरीको शारीरिक अवस्था विकास हुने अवस्थामा बच्चाको विकास राम्रो हुँदैन। शारीरिक तथा मानसिकरूपमा अपरिपक्व भएका आमाले गर्भाधारण गर्नुले ठूलो समस्या ल्याउन सक्ने खतरा बढाएको छ। सानो उमेरमा आफूखुसी विवाह गर्ने प्रचलनले पछिल्लो समयमा २० वर्षमुनिका गर्भवतीको संख्या वृद्धि गरेको हो। सानै उमेरमा विवाह गर्दा महिलाको पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेलगायत पाठेघरसम्बन्धी रोगहरू देखापर्ने गर्दछ। यसले पछिसम्म आमा र बालबालिकालाई असर गर्छ।

गर्भवतीले गर्भमा बच्चा बसेको जानकारी पाएपछि पाठेघरमा बच्चा रहेको अवस्था, पाठेघरको अवस्था, रगत जम्ने र नजम्ने प्रक्रिया र साल कहाँ बसेको छ, अग्रिम थाहा भयो भने शल्यक्रिया गर्नुपर्ने भए समयमा नै जानकारी लिन सकिने डा. राईले बताउनुभयो। भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नाले सुत्केरी गराउने समयमा बच्चाको अवस्था, बच्चाको उचित विकास भएको छ वा छैन, शल्यक्रिया गर्नु आवश्यक छ वा छैन, हेरेर जटिल भए पहिले नै सतर्कता अपनाउन सजिलो हुन्छ।

शारीरिक तथा मानसिकरूपमा योग्य नभएकी महिलालाई सुत्केरी हुने समयमा समस्या हुने डा. राईले स्पष्ट पार्नुभयो। यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान उच्च जोखिममा पुग्ने सम्भावनासमेत हुन्छ। उमेर नपुगी गर्भवती हुँदा महिलामा पाठेघरबाट पानी बग्ने, पाठेघर दुख्ने, रक्तश्राव हुने, पाठेघर खस्नेलगायत समस्या देखिने उहाँले बताउनुभयो।

विवाहित दम्पतीले महिला आमा बन्न शारीरिकरूपमा सक्षम छिन् कि छैनन् भनेर डाक्टरको सल्लाह लिनु आवश्यक रहेको उहाँको भनाइ छ। शारीरिक तथा मानसिकरूपमा तयार नभई गर्भवती हुँदा महिला र बच्चा दुवैलाई खतरा पनि हुने गरेको छ। यसका साथै सानो उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ। आधुनिक अवस्थामा जसरी समाज परिवर्तन भइरहेको छ, त्यसरी नै सानै उमेरमा विवाह गर्नेको संख्या बढाएको छ। सानो उमेरमा नै आफूखुसी विवाह गर्ने र विवाह गरेको ६ महिना नबित्दै गर्भवती हुने क्रम मकवानपुरमा बढेको छ। अपरिपक्व आमालाई गर्भावस्थासम्बन्धी जटिलता, समय नपुगी शिशु जन्मने, धेरै समय सुत्केरी व्यथा, शिशुको तौल कम हुने, स्वस्थ्य शिशु नजन्मने, शल्यक्रिया गर्नुपर्ने अवस्थालगायत समस्या देखिनसक्ने डा. राईले जानकारी दिनुभयो।

डा. राईका अनुसार किशोरी आमालाई शल्यक्रियामा देखिने समस्या पनि जटिल हुन्छ। सानो उमेरमा गरिएको विवाहले बालबालिकामा जन्मान्तर कम हुने, धेरै छोराछोरी जन्माउनेलगायत हुने गरेको छ। पर्सा, बारा, सिराहा र रौतहटलगायत जिल्लाबाट रेफर भएर हेटौंडा अस्पतालमा सुत्केरी गराउन महिला आउने गर्छन्। चालू आर्थिक वर्षको पुस महिनासम्म हेटौंडा अस्पतालमा १ सय ८९ जना महिलाले सुत्केरी गराए। जसमध्ये सामान्य अवस्थामा १ सय ४३ जना, सामान्य शल्यक्रिया गरी सुत्केरी हुने ३० जना र जटिल तरिकाले सुत्केरी हुने १६ जना छन्।

अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले १३ वर्षदेखि नै विवाह गर्ने प्रचलन छ। सानै उमेरमा बिहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो। बालविवाह र कम उमेरमा गर्भवती तथा सुत्केरी हुनाले जिल्लाको शिशु तथा मातृ मृत्युदर पनि बढेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ का अनुसार १५ देखि १९ वर्षका १७ प्रतिशत महिला किशोरावस्थामा आमा भइसकेका हुन्छन्। शहरभन्दा ग्रामीण क्षेत्रमा किशोरी अवस्थाका महिला बढी गर्भवती हुने गरेका छन्। कमजोर आर्थिकस्तर र प्रजनन स्वास्थ्य शिक्षा अभावका कारण किशोरी गर्भवती हुने गरेको सर्वेक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार १५ देखि १९ वर्षमा आमाको मृत्यु हने सम्भावना दोब्बर हुन्छ। यस्ता गर्भको जटिलताका कारण विकासोन्मुख देशहरूमा मात्र बर्सेनि करिब ७० हजार युवतीको अकालमा मृत्यु भइरहेको छ। समस्या उत्पन्न भएपछि ढिलो मात्र गर्भ जाँचका लागि आउने हुनाले गुणस्तरीय मातृ सेवा पुग्दैन।

पुठ्ठाको हड्डी अविकसित हुने, प्रसव व्यथा कष्टपूर्ण हुन सक्ने कारणले सिजेरियन शल्यक्रियाको सम्भावना बढी हुन्छ। यसले गर्दा कम्पन छुट्ने, पिसाब चुहिने, शिशु मृत्युदर तथा मातृ मृत्युदर पनि बढ्छ। किशोरी आमाले उनका बच्चालाई स्पर्श, मुस्कान, तोतेबोलीका माध्यमबाट संवेगात्मक विकासमा जोड दिन सक्दैनन् र बच्चाप्रतिको दायित्व, संवेदनशीलता, अपनत्व देखाउन सक्दैनन्। बच्चाप्रति बढ्ता रिस पोख्ने, पिट्ने, सताउने, दुःख दिने गर्छन्। बच्चामा पर्ने असरमा कालान्तरमा शिशुको मानसिक तथा सामाजिक विकास र वृद्धि विकासमा नकारात्मक असर पुग्छ।
मुख्य गरी बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो। बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ। यसका कारण यस्ता किशोरी घरेलु हिंसाको शिकार हुन बाध्य हुन्छन्।

बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रता कमी हुने जस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन (मानसिक चिन्ता) हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सक बताउँछन्। गर्भवती किशोरी जाँच गर्न भने कमै आउने गरेका छन्। लाजका कारण पनि किशोरी गर्भ जाँच गर्न समयमै आउँदैनन् र उनीहरूको स्वास्थ्यमा जोखिम हुने गर्दछ। बालविवाह अन्त्यका लागि लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन्। तर, पनि बालविवाहमा कमी आउन सकेको छैन। सरकारी तथा गैरसरकारी निकायबाट बालविवाहविरुद्ध अभियान सञ्चालन भइरहेका छन्। बालविवाहविरुद्ध काम गर्ने संघ–संस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्थामा खासै सुधार नआएको अस्पतालको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्