पार्टी एकता कहिले?



पार्टी एकता नै गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले अझैसम्म पनि पार्टी एकतालाई टुङ्गोमा पुर्याउन सकेका छैनन्। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम गठबन्धनका पक्षमै देखियो। देशभर चुनावी उभार देखियो पनि। प्रधानमन्त्री पनि एमाले अध्यक्ष ओली बन्नुभयो। तर पनि पार्टी एकता भने अझैसम्म हुन सकेको छैन।

केही समय त नेताहरूले राष्ट्रिय सभाको निर्वाचनको मतपरिणामको विषयलाई लिएर पार्टी एकताको कामलाई लम्ब्याउने कोशिश गरेका थिए। तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि जुनरुपमा पार्टी एकताका लागि नेताहरूले समय दिनुपर्ने थियो, त्यो नहुँदा आशंका गर्नेहरूले मौका पाए। केही नेताले आफूलाई केन्द्रमा राखेर अभिव्यक्ति पनि दिन थाले। चुनावको भोलीपल्ट नै पार्टी एकता गर्ने भनेर चुनावमा विकासका सपना देखाइएको थियो। तर, चुनाव सकिएको दुई महिनापछि पनि पार्टी एकता हुन नसक्दा एकताको विषय शंकाको घेरामा फसेको छ। पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको छैन। जसले आशंका गर्नेहरूलाई मलजल पुगेको पनि पुगेको देखिएको छ।

नयाँ सरकार गठनअघि नै सरकार बनाउने भनेर पटक–पटक ‘वान टु वान’ वार्ता गरेका प्रचण्ड र ओलीले खै के गरे वार्तामा? नयाँ सरकार गठनको प्रक्रिया त अगाडि बढिसक्यो, पार्टी एकता कहिले हुन्छ? अझै अत्तोपत्तो छैन। माओवादीले (माओ) कुरामा आफ्नो छुट्टै अडान राखेको छ भने एमालेको (जबज) को अडान, अनि कसरी हुन्छ पार्टी एकता? पार्टी एकता बढीमा वर्षभित्र टुंग्याइसक्नुपर्ने माओवादीको मत छ भने एमाले एकता हुन दुई–तीन वर्ष लाग्न सक्ने बताउँछ। हैन यो अबको पाँच वर्षपछाडि त फेरि अर्को निर्वाचन हुन्छ? के पार्टी एकताको नाममा एक वर्ष, दुई वर्ष भनेर झुलिरने?

– रामप्रसाद कोइराला, स्याङ्जा

हालः चावहिल, काठमाडौं
काठमाडौंमा फोहोरको समस्या अत्यधिक
आजका दिनहरूमा हाम्रो देशको राजधानी काठमाडौमा फोहोरको समस्या तीव्ररुपमा फैलिरहेको छ। फोहोरको व्यवस्थापन हुन नसकेका कारण टोलैपिच्छे दुर्गन्धित छ। नगरपालिकाको गाडी समयमा नआउने र आए पनि थाहा नहुने कारणले काठमाडौंमा धेरै फोहोर जम्मा भएको पाइन्छ। फोहोरको व्यवस्थापन हुन नसक्दा मानिसले जथाभावी फोहोर मिल्काएको पाइन्छ। यस विषयमा मेयर हुनुभएका विद्यासुन्दर शाक्यले विशेष ध्यान दिएर काम गर्नुपर्ने देखिन्छ। चुनावअगाडि काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएका उहाँले अहिले कानमा तेल हालेर बस्नुभएको छ भन्दा पनि केही फरक नपर्ला।

यसको दिगो समाधान खोज्न पनि जरुरी छ। बढ्दो जनसंख्याले यो समस्या दिनानुदिन जटिल बन्दै गएको छ। सरकारले पनि ठूला शहर र महानगरलाई मध्यनजर गरेर यस विषयमा नयाँ केही कार्यक्रम ल्याउन जरुरी छ।

हालै नियुक्त हुनुभएका वातावरणमन्त्री लालबाबु पण्डितज्यूलाई पनि म यस विषयमा गम्भीर भएर सोच्न आग्रह गर्न चाहन्छु। अब जति दुःख खेप्नुपर्ने हो हामीले खेपिसक्यौं। अब विभिन्न बहानाबाजीमा सडक खनेर धूलो उडाउन पाइँदैन। जसले नियम तोड्छ, उसलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने मेरो भनाइ हो।

– अनुप केसी, काठमाडौं
जलविद्युत्, आर्थिक विकासको मूल आधार
नेपाल जलस्रोतका हिसाबले विश्वमै दोस्रो स्थानमा छ। नेपाल जलविद्युत्का हिसाबले निकै ठूलो सम्भावना बोकेको मुलुक हो। नेपालमा रहेका हजारौं नदीनालाबाट जलविद्युत् आयोजनाहरूको सम्भावना व्यापक रहेको हामी सबैलाई थाहा भएकै कुरा हो। यसको सम्भाव्यता अध्ययन गरेर नेपाललाई आर्थिक हिसाबले समृद्ध बनाउन सकिन्छ। सरकारले प्रत्येक वर्षको बजेट विनियोजनमा यो शीर्षकमा पनि मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जरुरी छ। अध्ययनका लागि बजेट यकिन नभए पनि प्रत्यक वर्ष एउटा–एउटा मात्रै पनि आयोजना सम्पन्न गर्न सके नेपालले आर्थिक विकासमा ठुूलो फड्को मार्न सक्ने सम्भावना देखिन्छ।

सरकारले तयार पारेको वार्षिक विकास कार्यक्रममा नै बजेटको व्यवस्था गरिनुपर्छ। यस विषयमा अबको नयाँ सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। नेपालका नदी, वनजंगल मात्र हैन, प्रकृतिले धेरै कुरामा धनी बनाएको छ। खानी उत्खनन गरे मात्रै पनि नेपाललाई आर्थिक उन्नतिको उच्च शिखरमा पुर्याउन सकिन्छ। नेपालले बर्सेनि अर्बौंको विद्युत् खरिद गरेको हुन्छ। नेपालमै विद्युत् उत्पादन गर्न सकेमा विद्युत् बेचेर देशको आर्थिक उन्नतिसँगै अन्य कुराहरूको निर्यात गर्न सकिन्छ।

जलविद्युत् मात्र नभई थुप्रै पर्यटकहरूको आगमन गराउन सकिन्छ। यसले गर्दा विदेशी मुद्राहरू पनि भित्रिने सम्भावना देखिन्छ। त्यसैले अबको सरकारले यस विषयलाई मध्यनजर गर्दै आर्थिक विकासतर्फ अगाडि बढोस्।
– प्रविन न्युउरे, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्