पार्टी एकता टुंगो लगाउन वालुवाटारमा एमाले र माओवादीको बैठक बस्दै



मधुसूदन रायमाझी, काठमाडौं ।

नेकपा एमाले र नकेपा माओवादी केन्द्रले पार्टी एकता गर्नका लागि लिखित समझदारी जुटाउन एकता संयोजक समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँड र सैद्धान्तिक विषयमा टुंगो लागेपछि आज लिखित सहमति गर्न एकता संयोजक समितिको बैठक बस्न लागेको हो ।

दुई अध्यक्षबीच पार्टी एकता र सरकारमा सहभागिताको विषयमा छलफल भएको र त्यसलाई पार्टी एकता संयोजन समितिको बैठकबाट पूर्णता दिइने एमालेका वरिष्ठ नेता झलनाथ खनालले न्युज आफ नेपाललाई बताउनुभयो । उहाँका अनुसार आज साझ ७ बजे प्रधानमन्त्री निवास वालुवाटारमा एकता संयोजक समितिको बैठक बोलाइएको छ ।

माओवादी केन्द्रको सरकारमा सहभागिता, पार्टी एकतापछि अवलम्बन गर्ने सिद्दान्तल गायतका विषयमा आइतबार भक्तपुरमा ओली–प्रचण्डबीच भएको ५ घण्टा लामो वार्तामा सहमति भएको थियो । पार्टी एकताका लागि यसअघि पार्टी एकता संयोजन समितिमा एकीकृत पार्टीको मुल सिद्धान्त, सांगठनिक संरचना र नेतृत्वका विषयमा विवाद भएपछि माओवादीले सरकारमा आफ्नो पार्टीबाट मन्त्री पठाएको थिएन ।

तर माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसक्नुभएको छ । ओली र प्रचण्डबीच फागुन १ गते नै मोटामोटी सहमति भएर फागुन ३ गते एकता संयोजक समितिको बैठकमा लिखित सहमति गर्ने तयारी गरेपछि सिद्धान्तको विषयमा दुई पार्टीबीच कुरा मिल्न नसक्दा भाडिएको थियो । ओली प्रधानमन्त्री बने लगत्तै माओवादीसँग भएको निरन्तरतको संवादले ओली र प्रचण्डबीच आगामी महाधिवेशनसम्मको लागि जनताको बहुदलिय जनवाद र २१ औ शताब्दीको माओवादलाई बहसमा लैजाने समझदारी टुंगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्