युनाइटेड क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार हडर्सफिल्डविरुद्ध भएको खेलमा रोमेलु लुकाकुले दुई गोलको योगदान गरेपछि म्यानचेस्टर युनाइटेड २–० ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। खेलको तेस्रो मिनेटमै लुकाकुले हुवान माटाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनुअघि माटाले गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले त्यसलाई मान्यता नदिएपछि युनाइटेडको अग्रता दोब्बर हुन सकेन। तर खेलको ५३औं मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै युनाइटेडको जित सुनिश्चित पारे।

क्वाटरफाइनलमा युनाइटेडले ब्राइटनको सामना गर्ने भएको छ। उक्त खेल युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल्नेछ। कोभेन्ट्री सिटीलाई ३–१ ले पराजित गर्दै ब्राइटनले क्वाटरफाइनलमा युनाइटेडसँग भेट पक्का गरेको हो।

यसैगरी वेस्टब्रोमलाई २–१ ले पराजित गर्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा पुगेको छ। शनिबार राति नै भएको अर्को खेल गोलरहित बराबरीमा रोकिएपछि स्वान्सी सिटी र सेफिल्ड वेनस्डेले रिप्ले म्याच खेल्नुपर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्