दुई दिनपछि नेप्सेमा करेक्सन



काठमाडौं, (नेस)
आइतबार नेप्से परिसूचक ११ दशमलव शून्य ५ अंकले घटेको छ। कारोबार शुरू भएको केही समय हौसिएको शेयर बजार त्यसपछि तीव्र गिरावटका कारण सकारात्मक बन्न सकेन।

आइतबार १ हजार ४ सय २४ दशमलव ९५ अंकबाट शुरू भएको नेप्से कारोबार भएको १५ मिनेटमै करिब अंकले ओरालो लागेको थियो। तर, त्यसपछि अघिल्लो सातको अन्तिम दिन उत्साह कायम हुन नसक्दा बजार परिसूचक घटेको हो। त्यसको करिव १ घण्टा सुधारिने कोसिस गरे पनि परिसूचकले गति लिन नसक्दा नेप्से १ हजार २ सय १३ दशमलव ९ अंकमा पुगेर रोकिएको हो।

अघिल्लो सातको अन्तिम २ दिन नयाँ सरकार निर्माण हुने खबरले लगानीकर्ता उत्साहित भए पनि सरकार विस्तारमा अझै समस्या देखिएपछि त्यसको असर बजारमा परेको जानकारहरू बताउँछन्। स्थायी सरकारको आशामा बिहीबार नेप्से बढे पनि समर्थन विषयमा भएको वार्ताले अझै अन्योलता सिर्जना गरेको उनीहरूको दाबी छ। यस्तै लिक्विडिटी क्रन्च तथा बैंकको ब्याजदरको वृद्धिको समाधान नहुनु पनि बजार नबढ्नुका कारण भएको उनीहरू बताउँछन्।

नेप्से घट्दा आइतबार शेयर बजारको कूल कारोबार रकममा पनि गिरावट आएको छ। गत साताको अज्तिम दिन ६५ करोडभन्दा माथिको कारोबार भएको बजारमा यसदिन बजारमा ५९ करोड ६ लाख ६० हजार १३ रुपियाँको कारोबार भएको नेप्सेले जनाएको छ। यसक्रममा १ सय ५९ कम्पनीका १४ लाख २९ हजार ३ सय ५९ कित्ता शेयर किनबेच भए।

नेप्से परिसूचक घट्दा यसदिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव १४ अंकले घटेर २ सय ९९ दशमलव १६ को बिन्दूमा पुगेको छ।यस दिन कारोबारमा आएका १० मध्ये ९ समूहमा गिरावट आएका छन्। आइतबार उत्पादनमूलक समूह ९ दशमलव ६९ अंकले बढ्दा बीमा समूह सबैभन्दा धेरै १ सय ७ दशमलव ४८ अंकले घट्यो।

त्यसैगरी होटल समूह ३८ दशमलव ६४, जलविद्युत् समूह ३४ दशमलव २६ अंकले घट्दा लघुवित्त समूह पनि ३० दशमलव ३२ अंकले ओरालो लाग्यो। घट्नेमा बैंकिङ समूह २ दशमलव ८३ अंक, विकास बैंक २१ दशमलव ५८ अंक, वित्त समूह ८ दशमलव १५ अंक र अन्य समूह ९ दशमलव ९६ अंकले घटेका छन्।

यसदिन धेरै कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। बैंकको २ करोड ८१ लाख रुपियाँको कारोबार हुँदा सानिमा, नबिल र नेपाल बैंकका पनि २ करोड रुपियाँभन्दा बढीको कारोबार भए।

प्रतिक्रिया दिनुहोस्