भूकम्पग्रस्त क्षेत्रमा हेलिकोप्टर दुर्घटना



मेक्सिको सिटी, (एजेन्सी)
मेक्सिकोमा शुक्रबार आएको शक्तिशाली भूकम्पको भौतिक र मानवीय क्षति विवरण लिन वरिष्ठ सरकारी अधिकारीहरु चढेको एउटा हेलिकोप्टर शनिबार दुर्घटनाग्रस्त हुँदा एकजना शिशुलगायत कम्तिमा १४ जना व्यक्तिको ज्यान गएको सरकारी सञ्चार माध्यमले जनाएको छ। तर सोही हेलिकोप्टरमा सवार मेक्सिकोका गृहमन्त्री तथा साउथ वेस्ट ओआक्जाका राज्यका गवर्नर भने कुशल रहेको बताइएको छ। गृहमन्त्री अलफाँसो नाभार्रेटेले जमिनतर्फ आउने क्रममा अचानक पायलटको हेलिकोप्टरमाथि नियन्त्रण गुमेको बताएका छन्।

ओआक्जाकालाई केन्द्रबिन्दु बनाउँदै आएको ७ दशमलव २ रिक्टर स्केलको भूकम्पले केन्द्रबिन्दुदेखि ३ सय ५० किमि टाढाको राजधानी मेक्सिको सिटीका घरहरू बेस्सरी हल्लाएको थियो। तर भूकम्पका कारण मानवीय क्षतिको कुनै खबर आएको छैन। केन्द्रबिन्दुनजिकैको सान्टियागो जामिलटेप्पे गाउँमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्