खेताला शिक्षक प्रकरण



सुरेश तामाङ

यास्पा आधारभूत विद्यालयमा खेताला शिक्षक राखेको सार्वजनिक भइसकेको अवस्थामा ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले खेताला शिक्षक नराखेको दाबी गर्नुभयो। सो विद्यालयका प्रधानाध्यापक डोलकेशर दाहालले आफूले खेताला शिक्षक राखेको बताउँदाबताउँदै पनि जिशिअले भने शिक्षक नराखेको भन्दै ढाट्नुभएको छ। प्रअ दाहालले आफू मृगौलाको शल्यक्रिया गरेर पत्थरी निकालेकाले डाक्टरको सल्लाहअनुसार लामो समय बिदामा बसेको स्वीकार्दै उहाँले आफू बिदामा रहँदा र कतै जाँदा पनि कक्षा प्रभावित नबनोस् भनेर खेताला शिक्षक राखेको बताउनुभएको थियो । उहाँले त्यस बेला निजी स्रोतबाट शिक्षक राखेको विषयमा पनि केही भन्नुभएन। उहाँले उक्त विद्यालयमा प्रधानाध्यापकले खेताला शिक्षक राखेको विषयमा नेपाल समाचारपत्रले यसअघि जिज्ञासा राख्दा बुझेर जवाफ दिने बताउनुभएको थियो।

जिशिअ खनालले विद्यालय निरीक्षक (विनि) लाई त्यहाँको वास्ताविकता के रहेछ बुझेर रिपोर्टिङ गर्नू भनेर निर्देशन दिनुभएको थियो। ‘मैले त्यसलगत्तै विनिलाई त्यहाँको वास्ताविकता बुझेर रिपोर्टिङ गर्न लगाएँु, जिशिअ खनालले भन्नुभयो– अहिले उहाँबाट रिपोर्टिङ भएको छ। हामीले त्यहाँको अभिलेख, वास्तविकता बुझ्दा त्यहाँ खेताला शिक्षक नराखेको निष्कर्षमा हामी पुग्यौं भन्दै प्रअलाई बचाउन खोज्नुभयो।

खेताला शिक्षक भनिएका स्थानीय युवकलाई जेठदेखि निजी स्रोतबाट मासिक ६ हजार रुपियाँ व्यवस्था गर्ने गरी नियुक्ति गरेको थियो। त्यस्तै लामो समयदेखि प्रअ बिदामा बसेको भन्ने कुरा बुझ्दा विद्यालय व्यवस्थापन समितिसामु १० दिनको बिदा स्वीकृति गरेर घरबिदा बसेको भेटिएको जिशिअ खनालले बताउनुभयो।

तर, आफू लामो समय विद्यालय नगएको, कसैसँग अनुमति नलिएको, आफू रोगी भएका कारण गोल्डेन हेन्सेकमा जानका लागि राजीनामा दिने मुडमा बसेको प्रअ दाहालले बताउनुभएको थियो। स्थानीयहरू यस मामलामा मिलोमतो भएको बताउँछन्। यसअघि हामीले बाग्मती गाउँपालिका–३ खानीखोला यास्पामा रहेको सो विद्यालयमा खेताला शिक्षक राखेर आफू भने बिमारी भएको भन्दै आराम गर्ने नाममा विद्यालय नगई लामो समयदेखि किराना पसल चलाउँदै आएको आशयको समाचार प्रकाशन गरेको थियौं।

प्रतिक्रिया दिनुहोस्