मुस्ताङका प्रचार गर्न एल्बम



पर्यटन तथा फिल्म छायांकनको आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रूपले मात्र नभई धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश बोकेको गीति अडियो एल्बम हाम्रो मुस्ताङ सार्वजनिक गरिएको छ।

प्रतिनिधिसभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपीन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम विमोचन गरेका हुन्।

राजधानीमा आयोजित कार्यक्रममा मुस्ताङको सुन्दरतालाई वर्णन गर्दै रचना गरिएको एल्बमको शीर्ष गीत हाम्रो मुस्ताङको म्युजिक भिडियो प्रिमियरसमेत गरियो। उक्त गीतमा गायिका टीका प्रसाईंको स्वर छ। सन्तोष कोन्मेको निर्देश्ँन, छायांकन तथा सम्पादन रहेको भिडियोका परिकल्पनाकार बादल थकाली हुन्। पर्यटकीय दृष्टिकोणबाट विश्वकै सुन्दर ठाउँ मुस्ताङको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचार गर्ने उद्देश्यले उक्त म्युजिक भिडियो तयार पारिएको जनाइएको छ।

विमोचन समारोहमा एल्बमका परिकल्पनाकार बादल थकालीले एल्बममार्फत मुस्ताङको प्रँकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह्वानसमेत गरिएको जानकारी दिए। गीतकार विपीन किरणले शब्दमार्फत मुस्ताङको सेरोफेरो मात्र समेटेका छैनन्, गीतैमार्फत कोरला नाका खोल्न आग्रहसमेत गरिएको छ। एल्बममा ७ गीत समावेश छन्। एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङको स्वर सुन्न सकिन्छ। एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्