श्वेताको कान्छीलाई दर्शकको साथ



नायिका तथा निर्मात्री श्वेता खड्काद्वारा निर्मित तथा अभिनित फिल्म कान्छीले दर्शकबाट राम्रो साथ पाएको छ। रिलिजको पहिलो दिन प्रदर्शनमा आएका नेपालभरका हलबाट ७० प्रतिशत दर्शक पाएको कान्छीले दोस्रो दिन शनिबार शतप्रतिशत दर्शक पायो।

उपत्यकाका वितरक गोपाल कायस्थका अनुसार फिल्मले शुक्रबार रिलिजमा आएका हलमा ७० प्रतिशत र शनिबार शतप्रतिशत अर्थात् हाउसफुलको व्यापार गरेको छ भने आइतबार पनि यसको व्यापार राम्रो देखिएको छ। दर्शकका लागि हल–हलमा पुगेकी नायिका तथा निर्मात्री खड्काले दर्शकबाट फिल्मको राम्रो प्रतिक्रिया पाइन्। दर्शकले उनीसँग बसेर सेल्फी खिच्दै खुसीयाली मनाए भने ‘जय कान्छी’ भन्दै नारासमेत लगाए। श्वेतासँगै त्यसका अभिनेताद्वय दयाहाङ राई, प्रज्वलसुजल गिरी तथा निर्देशक आकाश अधिकारी पनि हलमा पुगेका थिए।

त्यसअघि रिलिजकै दिन बिहान राजधानिमा आयोजित प्रेस शोमै कान्छीले सकरात्मक प्रतिक्रिया पाएको थियो। जहाँ श्वेताले आफ्नो दिवंगत पति तथा नायक एवं निर्माता श्रीकृष्ण श्रेष्ठको सम्झनामा आँशु झारेकी थिइन्। ‘फिल्म हेरेपछि उहाँको सम्झना आयो। विगतमा फिल्म रिलिज गर्दाको क्षण, काम गर्दाको क्षणलगायतका कुराको सम्झनाले मन भक्कानियो’ –श्वेताले डाँको छोड्दै भनेकी थिइन्। श्वेतले फिल्मको शुरुमै आफ्ना दिवंगत पतिको सम्मानमा भावविह्वल भावना राखेकी छिन्। जसका भनिएको छ– ‘तपाईं कहिल्यै हराउनुहुने छैन, टाढा हुनुहुन्न। सधैं माया छ। सम्झना छ।’

श्रीकृष्णको निधनपछि श्वेता लामो समय शोकमा डुबेकी थिइन्। श्रीकृष्णको निधको झन्डै ३ वर्षपछि मात्र उनी फिल्ममा फर्किएकी हुन्।काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित फिल्मलाई नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काद्वारा निर्मित एक सय दिन मनाउन सफल फिल्म कोहिनुरका निर्देशक आकाश अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामा, नीर शाहलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। रविन खड्का सहनिर्माता रहेको फिल्ममा लेखन यम थापा, संगीत अर्जुन पोखरेल र राजनराज शिवाकोटी, नृत्य वसन्त श्रेष्ठ, द्वन्द्व हिमाल केसी, छायांकन पुरुषोत्तम प्रधान तथा सम्पादन बनिष शाह र भूपेन्द्र अधिकारीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्