इरान विश्वकै लागि सबैभन्दा खतरनाकः नेतान्याहु



म्युनिख, (एजेन्सी)
जर्मनीको म्युनिखमा भइरहेका सुरक्षा सम्मेलनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई विश्वकै सबैभन्दा खतरनाक भएको बताएका छन्।

नेतान्याहुले प्रष्ट शब्दमा इरानी नेतृत्वलाई इजरायलमा आतंकवादी छिराउन अनुमति नदिने बताए। उनले इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि पनि झुठो भएको आरोप लगाउँदै उनी इरानी नेतृत्वमा वाकपटुता भएका प्रवक्ता भएको र उनी झुठ बोल्न सिपालु भएको बताए।

विदेशमन्त्री जरिफले उक्त बैठकमा इरानको प्रतिनिधित्व गरिरहेका छन् र बैठकमा उनले सम्वोधन गर्न बाँकी नै छ। गत हप्ता इरानले इजरायलको सीमामा ड्रोन पठाएको र त्यसलाई इजरायली सुरक्षा बलले खसालेको नेतान्याहुले बताए। तर इरानले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ।उनले नष्ट गरिएको ड्रोनको टुक्रा हातमा उठाउँदै जरिफलाई सिधै सम्बोधन गर्दै भने–के तपाईले यो ड्रोनलाई चिन्नुभयो? तपाईले चिन्नुपर्ने हो, किनभने यो तपाईंकै हो। हाम्रो परीक्षा नलिनुहोला।

उनले मध्यपूर्वमा इजरायलका मित्र देशका लागि मात्र नभएर आफ्नै लागि पनि इरानमाथि कारबाही गर्न सक्ने चेतावनी दिए। सिरिया र यमनमा इरानको भूमिकालाई लिएर मध्यपूर्वमा तनाव बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान विरुद्ध कडा नीति अख्तियार गरिरहेको बेला इजरायलले उसका क्षत्रीय समर्थनलाई व्यापक बनाउन चाहेको छ।

सम्मेलनलाई पछि सम्बोधन गरेका इरानी विदेशमन्त्री मोहम्मद जावाद जारिफले नेतान्याहुको प्रस्तुती सर्कसको जोकरको जस्तो भएको र त्यो जवाफ दिन पनि योग्य नदेखिएको बताए।

जारीफले अमेरिकामाथि उक्त सम्मेलनलाई इरान विरुद्धको हिस्टेरियालाई पुनर्जिवित पार्न प्रयोग गरिरहेको आरोप लगाए र तेहरानले मध्यपूर्वमा नायकत्वको खोजिरहेको कुरालाई अस्वीकार गरे।
तर नेतान्याहुले इराक र सिरियामा इस्लामिक स्टेट विरुद्धको अमेरिकी नेतृत्वको गठबन्धनले लडाकूहरूबाट भूमिमाथि पुन कब्जा गरेपछि इरानले उसको शक्ति बढाएको बताए।

प्रतिक्रिया दिनुहोस्