‘मैले भन्दैमा रोकिने र तपाईले भन्दैमा सर्दैन राजधानी’–मुख्यमन्त्री पौडेल



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल प्रदेशको राजधानीका विषयमा भएका टिका टिप्पणी र बहसका बारेमा हतारो भएको टिप्पणी गरेका छन् । ‘एउटा बैठक समेत अस्थायी राजधानीमा बस्न सकेको छैन, स्थायी राजधानीका बारेमा किन हतार गर्नु ?’– मुख्यमन्त्री पौडेलले भने ।

धुलिखेल नगरपालिकाको ३२ औ स्थापना दिवसको अवसरमा आयोजित स्थापना दिवस समारोह कार्यक्रममा मुख्यमन्त्री पौड्यालले सपथ पछिको पहिलो औपचारिक कार्यक्रममा बोल्दै भने–‘मैले त्यहि राख्छु भन्दैमा र तपाईहरुले अन्यत्र लैजान्छु भन्दैमा राजधानीको टुङ्गो लाग्दैन, त्यो त नीति, विधी र संविधान अनुसार हुनेछ ।’ राजधानी जहाँ रहे पनि प्रदेश अन्र्तगतका १३ वटै जिल्लाको साझा ब्यक्ति भएकाले साझा भएरै बस्ने उनले उद्घोष गरे ।

प्रदेश सरकार कस्तो हुने ? यसले गर्ने काम के के हुन् ? यसको बारेमा अझै बुझ्न बाँकी रहेको बताउँदै मुख्य मन्त्री पौड्यालले भने–‘बोलेपछि पुरा गर्नु पर्ने बानी भएकाले सरकार कस्तो हुने भन्ने जानकारी नै नभई यसो गर्छु, उसो गर्छु भनेर बोल्नुको अर्थ छैन ।’ २० वर्षको आन्दोलन पछि स्थानीय सरकारको गठन भएको स्मरण गर्दै मुख्यमन्त्री पौड्यालले सरकारको श्रोत र अधिकार के हो ? प्रष्ट नभएको बताउँदै भएका श्रोत र साधन मात्रै प्रयोग र परिचालन गर्न सकिँदा मात्रै ठुलो प्रगति हासिल गर्न सकिने बताए ।

काठमाडौ पछिको राम्रो र धेरै सुनिने शहरका रुपमा चिनिएको धुलिखेलले आफुलाई विशिष्ठकृत गर्नु पर्नेमा मुख्यमन्त्रीले जोड दिए । शिक्षा र स्वास्थ्यमा छुट्टै पहिचान बनाएको धुलिखेलले पर्यटनमा समेत फड्को मारिसकेको छ । त्यस अवस्थामा आफुलाई कुन हिसावले अब्बल बनाउने ? विकास र सिस्टममा समेत नयाँ मोडलको प्रवेश गराई विकासमा छलाङ्ग मार्न उनले सुझाब दिए । ५० लाख चाहिने स्थानमा ५ लाख रकम विनियोजन गरेर विकास छर्न नहुने बताउँदै मुख्य मन्त्री पौड्यालले विश्वास मर्न नदिने प्रतिवद्धता ब्यक्त गरे ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई आगामी ५ वर्ष भित्र सम्बृद्ध बनाउने खाका प्रस्तुत गरे । पानी, शिक्षा, स्वास्थ्य, गरिवी उन्मुलन लगायतका क्षेत्रमा सफलता प्राप्ति सँगै बालमैत्री नगर, खुल्ला दिशामुक्त, रोजगार र ब्यवसायीक हिसावले सक्षम नगरपालिकाका बनाउने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाले धुलिखेललाई सम्बृद्ध बनाएसँगै छिमेकी नगर र गाउँपालिकाहरुमा पनि यस्तै मोडल अगाडी बढाउन आग्रह गरे ।

प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ्ग, उपकुलपति डा. रामकष्ठ माकजु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेलका संस्थापक प्रमुख बेलप्रसाद श्रेष्ठ, बरिष्ठ कलाकार हरिवंश आचार्य, धुलिखेल नगरका उपप्रमुख विमला शर्मा लगायतले धुलिखेललाई विभिन्न क्षेत्रबाट सम्वृद्ध बनाउन प्रयास गर्नु पर्ने बताएका थिए ।

स्थापना दिवसको अवसरमा नगरपालिकाले नगर स्तम्भको शिल्यान्यास गरेको छ भने नगर चिनाउने लोगोको सार्वजनिक गरेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान पु¥याउनु हुने ब्यक्ति, संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । मुख्य मन्त्री पौड्याल, नगर प्रमुख ब्याञ्जु लगायतले सम्मानित ब्यक्तिहरुलाई मान पद्बी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्