आर्मीलाई सिमरा गोल्डकपको उपाधि



गोकुल घोरसाइने, बारा

त्रिभुवन आर्मी क्लबले नवौं सिमरा गोल्डकपको उपाधि जितेको छ। सिमरा रंगशालामा शनिबार भएको प्रतियोगितामा थ्री–स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले सिमरा गोल्डकपको उपाधि दोस्रोपटक जितेको हो। आर्मीले यसअघि २०७१ मा छैटौं संस्करणको उपाधि जितेको थियो। आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान १–१ गोल गरे। खेलको ५८औं मिनटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए। खेलको ७४औं मिनटमा आर्मीका नवयुग श्रेष्ठले दोस्रो गोल गर्दा थ्री–स्टारविरुद्ध आर्मीले शानदार जित दर्ता गरायो।

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका सन्तोष तामाङ घोषित भए। खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिव प्रकाश तिमल्सिनालगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी दिनेश हेम्जनले एकथान यामाहा सेलुटो मोटरसाइकलसहित सर्वाधिक गोलकर्ताको अवार्ड प्राप्त गर्दै थप १५ हजार हात पारे। अन्य विधागत उत्कृष्ट खेलाडीले समान १५ हजार नगद र ट्रफी हात पारे।

प्रतिक्रिया दिनुहोस्