बक्यौता नतिरे प्रतिबन्ध



दीपेन्द्र थापा, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एअर एसियालाई बक्यौता तिर्न फेब्रुअरी २८ तारिखसम्मको समयसीमा दिएको छ। त्यसअवधिमा बक्यौता नतिरे उडान तथा अवरतरणमा प्रतिबन्ध लगाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक रामकुमार क्षेत्रीका अनुसार सीमाअवधिभित्रै बक्यौता रकम नतिरे मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको सेवा नै बन्द हुनेछ। नेपाल समाचारपत्रसँग कुरा गर्दै विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो– ‘एयर एसिया एक्सको नेपाली उडान बन्द गर्न सके चेतावनीका साथ हेडक्वाटर क्वालालम्पुर पत्र पठाएका छौं।’ एयर एसिया एक्सको हालसम्मको करिब २३ करोड रुपियाँ बाँकी बक्यौता रहेको विमानस्थलले जनाएको छ।

क्षेत्रीले भन्नुभयो– ‘उक्त कम्पनीको बक्यौता रकम धेरै भइसकेको छ। समयसीमाभित्र रकम नतिरे कानुनबमोजिम कारबाही हुनेछ।’ अरू रकम पनि चाँडै तिर्ने बताए पनि कम्पनीको हेडक्वाटरमै सजग गराउनको लागि पत्राचार गर्न लागिएको प्रमुख क्षेत्रीको भनाइ छ।

गत महिना एयर एसिया एक्सले करिब २ करोड ५० लाख रुपियाँभन्दा बढी बक्यौता तिरेको थियो। एयर एसिया एक्सले काठमाडौंका लागि हप्तामा ५ वटा उडान भर्दै आएको छ। एयर एसिया एक्ससँगै बक्यौता रकम तिर्न नेपाल एयरलाइन्सलगायत थुप्रै एयर कम्पनी रहेका छन्। अरू कम्पनीले भने थोरैथोरै गरेर बाँकी बक्यौता रकम घटाउँदै आएका छन्।
सबैभन्दा धेरै भन्सार कार्यालयको विमानस्थलका अनुसार सबैभन्दा धेरै बक्यौता भन्सार कार्यालयको छ। भन्सार विभागको मात्र ५३ करोड ९६ लाख ९ हजार ७३ रुपियाँ ३० पैसा बाँकी बक्यौता रहेको छ। यता भन्सार विभागले भने प्राधिकरणले तिर्ने करमार्फत् मिलान गर्ने जनाउँदै आएको भए पनि मिलान भने मन्त्रालयले नगरेको विमानस्थलले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा उपयोग गरेवापत् सरकारी कार्यालय तथा संघसंस्थाको हाल सम्मको जम्मा बाँकी बक्यौता मात्र ५५ करोड १२ लाख २१ हजार ८ सय १६ रुपियाँ २ पैसा रहेको छ। त्यसमा नेपाल वायुसेवा निगमको ३१ करोड १३ लाख ४६ हजार ४६ रुपियाँ बक्यौता रहेको छ। विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि लिएको सेवा र अन्य सेवाको रूपमा बक्यौता रहेको हो।

हाल सञ्चालनमा रहेका आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्सका ७१ कम्पनीको मात्र ५९ करोड ५० लाख १८ हजार १ सय २५ रुपियाँ १७ पैसा बक्यौता रहेको छ। त्यसै गरी सञ्चालनमा नरहेका एयरलाइन्सको जम्मा बाँकी बक्यौता ११ करोड २२ लाख ५७ हजार ३ सय ६५ रुपियाँ २० पैसा रहेको छ।

त्यसै गरी सञ्चालनमा नरहेका ४२ संघसंस्थाको जम्मा बाँकी बक्यौता २९ करोड ७५ लाख ७५ हजार ५ सय १८ रुपियाँ ५ पैसा रहेको छ। सञ्चालनमा रहेको ६१ संघसंस्थाको जम्मा बाँकी बक्यौता रकम भने १० करोड ८८ लाख ५५ हजार ८ सय ५४ रुपियाँ ६७ पैसा रहेको विमानस्थलले जनाएको छ।

आन्तरिक कम्पनीका भने सौर्य एयरलाइन्स र सिम्रीक एयरलाइन्सको बक्यौता रकम सबैभन्दा धेरै रहेको छ। ती एअरलाइन्सको बक्यौता रकम क्रमशः ९२ लाख १ हजार ५ सय ४८ रुपियाँ १४ पैसा र ८३ लाख ८३ हजार २ सय १३ रुपियाँ २७ पैसा रहेको विमानस्थलले जनाएको छ।
अन्य निजी हवाई सेवाप्रदायक कम्पनीको धेरै रकम बक्यौता नरहेको र बक्यौता रकम तिर्नको लागि सचेत गराएपछि नियमितरूपमा बक्यौता रकम तिर्दै आएको विमानस्थलले जनाएको छ।
विमानस्थलले नागरिक उड्ययन प्राधिकरणलाई प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई र मन्त्रालयले सम्बन्धित निकायलाई पत्र काट्ने सरकारी प्रावधान रहको विमानस्थलका प्रमुख क्षेत्रीले बताउनुभयो।

यसैबीच २०७२ असोजबाट विमानस्थल प्रमुखको कार्यभार सम्हाल्नुभएका विमानस्थल पूर्वप्रमुख देवानन्द उपाध्यायका अनुसार २०७२ असार मसान्तसम्म २ अर्ब ५ करोड ६९ लाख ३ हजार ६ सय २८ रुपियाँ ७६ पैसा बक्यौता रहेकोमा २०७४ को मंसिरसम्ममा बक्यौता रकम १४ अर्ब ७ करोड ८८ लाख ९५ हजार ७२ रुपियाँ ४५ पैसा रकम असुली भएको थियो।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था छ भने ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ। सोभन्दा माथिको सोहीअनुसार जरिवानाको व्यवस्था रहेको छ।

विमानस्थलले विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा काउन्टर, होडिङबोर्ड विमानस्थलभित्र सञ्चालन गरेको पसल, भण्डारणलगायत शुल्क लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्