लगानीकर्ताले ४० अर्ब कमाए



नेपाल समाचारपत्र
काठमाडौं
फागुन महिनाको पहिलो साता नेप्से परिसूचक ३३ दशमलव ९२ अंकले बढेको छ। माघका दुई दिनसहित जम्मा चार दिन कारोबार भएको बजारमा अन्तिम दिन बजार उच्च अंकले वृद्धि हुँदा बजार सकारात्मक बनेको हो।

गत साता पहिलो दिन १ हजार ३ सय ९१ दशमलव शून्य ३ को विन्दुबाट शुरू भएको नेप्से अन्तिम दिन १ हजार ४ सय २४ दशमलव ९५ को बिन्दुमा पुगेर रोकिएको हो।

परिसूचक बढ्दा यस साता कारोबार रकम भने स्थिर रहेको छ। गत साता नेप्सेमा १ अर्ब ५४ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सो क्रममा नेप्सेमा १ सय ७९ कम्पनीका ३७ लाख ९२ हजार ४ सय ७० कित्ता शेयर किनबेच भए। सातभरि कुल १६ हजार ६ सय ३८ कारोबार भए।

कारोबार रकम पाँचै दिन कारोबार भएको अघिल्लो साताभन्दा शून्य दशमलव ६२ प्रतिशत कम हो। अघिल्लो साता बजारमा १ सय ७६ कम्पनीका ४१ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ५५ करोड ११ लाख २ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा सुधार आउँदा गत साता शेयर बजारको आकार (बजार पुँजीकरण) साढे करिब ४० अर्ब रुपियाँले बढेको छ। यस साता बजार पुँजीकरण १६ खर्ब २६ अर्ब ७४ करोड रुपियाँबाट बढेर १६ खर्ब ६६ अर्ब ३९ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ८ दशमलव ४९ अंकले बढेर ३ सय १ दशमलव ३ अङ्कमा आइपुगेको छ। गतसाता कारोबारमा आएका सबै समूहमा सुधार आए। तीमध्ये बीमा समूह सबैभन्दा धेरै २ सय २२ दशमलव १८ अंकले बढ्यो।

यसैगरी लघुवित्त, विकास बैंक र जलविद्युत् समूहमा क्रमशः ६४ दशमलव शून्य ४, ५६ दशमलव ५२ र ४३ दशमलव शून्य ५ अंकको सुधार आउँदा बैंकिङ, उत्पादनमूलक र होटल समूहमा पनि क्रमशः ३० दशमलव ३३, २५ दशमलव १८ र २० दशमलव ६ अंकको सुधार आए। त्यस्तै ट्रेडिङ समूह १० दशमलव ९७ अंक, वित्त समूह ९ दशमलव ९८ र अन्य समूह १ दशमलव ८३ अंकले उकालो लागे।

यस साता कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो। बैंकको कूल ६ करोड ७१ लाख ५० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो। यस साता काराबार भएको शेयर संख्याको आधारमा पनि नेपाल बैंक २ लाख ९३ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक ५ सय ९० वटा कारोबारसहित शीर्षस्थानमा सह्यो। कारोबार रकमका आधारमा ६ करोड ५ लाख रुपियाँ नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक शेयर दोस्रो स्थानमा रहे। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंक पनि अटाए।

यस साता नेप्सेमा ४ वटा कम्पनीका ६८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर सूचीकृत भएका छन। जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका ६ लाख कित्ता साधारण शेयर र ओरियन्टल होटलका १४ लाख २५ हजार १ सय ६ दशमलव ३५ कित्ता बोनस शेयर रहेका छन्। त्यस्तै जेबिल्स फाइनान्सका २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १९ लाख ७३ हजार ९ सय २८ दशमलव ७७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्