बद्रीले रुवाए दैलेखबासीलाई



हिक्मत नेपाली, दैलेख

लौन नेताज्यू, दैलेखतिर आउन कहिलेकाहीं किन नेताज्यू हाम्रो भेट हुन्न पहिलेझैं।
कार्यक्रम सञ्चालकले स्टेजमा बोलाउनेवित्तिकै मञ्चमा चढेर लोकगायक बद्री पंगेनीले भोट मागेपछि गाउँ वा जिल्लाबाट टाढा रहने नेताहरुलाई व्यंग्य गर्दै यस्तो गीत गाएर शुरुमै दर्शकलाई आफूतिर आकर्षित गरे। बद्रीले शुरुमै यस्तो चोटिलो गीत गाएसँगै दर्शकहरु एक्कासी जुर्मुराए।

दैलेख जिल्लाभित्र रहेका सम्भावनालाई इंकित गर्दै बद्रीले भने– ‘श्रीस्थानमा बलिरहेको पेट्रोल कहिले उत्खनन हुन्छ?’ दैलेख समृद्धिका भाका गाएका बद्रीले एकैछिनमा दर्शकलाई भावुक बनाए ।

आमा बिदा पाइएन अहिलेको साल पनि आउन पाइएन बोलको गीत गाएपछि मेला हेर्न आएका अधिकांश आमा, दिदी–बहिनीले आँखाबाट आँशु बगाए। बद्रीले स्टेजमा पुग्नासाथ विदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाइदिए। धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले। त्यसपछि लोकगायक पंगेनीले नारी वेदनासँग सम्बन्धित गीतहरू गाउन थाले। उनले जेठो छोरो काँ छ काँ छ माइला छोरो आर्मीमा भर्ती भाको छ, जुन छोराले जे गरेनि मै बूढाको टाउको खाको छ गीत गाउँदा महोत्सव हेर्न आएका वृद्ध बाबुआमाको आँखाबाट आँशु नै झरे।

दैलेखको शान, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हाम्रो अभियान भन्ने मूल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा भएको दैलेख सांस्कृतिक महोत्सव हेर्न आएका हजारौं दर्शकलाई जनताका गायक भनेर चिनिने कलाकार पंगेनीले सबैलाई भावविह्वल बनाइदिए।

दैलेख सांस्कृतिक महोत्सवको तेस्रो दिन बद्रीले गीत गाउन शुरु गरेलगत्तै महोत्सव हेर्न आएका थुप्रै आमा रुन थालेका थिए। आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन्। माइकको छेको पारी आफ्नो आँखाको आँशु पुछे। दैलेखमा सांस्कृतिक महोत्सव चलिरहँदा विदेशमा रहेका छोराले दैलेखको सम्झना गरिरहेको बद्रीले गीतमार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोए।

आफूले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउँदै बद्रीले मञ्चबाटै युवालाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए। ‘कसैका छोराछोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस्’, बद्रीले भने– ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस्।’

मञ्च प्रवेशसँगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाए पनि। मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले मन थिएन जोगी बन्नलाई, ससुरालीमा जस्ता लोकप्रिय गीत गाएर दर्शकसँगै आयोजकलाई समेत नचाए। आफैंसमेत नाच्दै निस्किएका उनलाई महोत्सव हेर्न आएका युवा, वृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए।

महोत्सवको तेस्रो दिन दैलेखका कलाकार राजु केसी, कलाकार एवं पत्रकार धनराज वास्तविक तथा स्थानीय नृत्य समूहले बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्