कर्मचारीमा केन्द्र मोह कायमै



गंगा बराल, काठमाडौं

प्रदेशसभा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयले पठाएका कर्मचारी सम्बन्धित प्रदेशमा पुगेका छैनन्।

मन्त्रालयले १८ जना कर्मचारी प्रदेशसभा सञ्चालनका लागि पठाए पनि अझै पनि धेरैजसो प्रदेशमा कर्मचारी नपुगेको संसद् सचिवालयले जनाएको छ। प्रदेशसभा बैठकको अनुगमन गरी फर्किएको सचिवालयको टोलीले अधिकांश प्रदेशमा सचिवालयका कर्मचारीले मात्र बैठक चलाउनुपरेको जनाइएको छ।

सचिवालयका प्रशासन महाशाखाका सह–सचिव सुरजकुमार दुराका अनुसार चार नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा कर्मचारी पर्याप्त मात्रामा पुगेका छैनन्। ‘प्रदेशसभाको अनुगमन गर्न गएको टोलीले प्रशासनका कर्मचारी नपुगेको फेला पारेको छ’, दुराले भन्नुभयो– ‘सचिवालयले बैठकका लागि समन्वय गरिरहेको छ, सचिवालयका कर्मचारीले प्रशासनका कर्मचारीको सहयोग पाएको महसुस गरेनन्।’

सचिवालयले आफ्ना कर्मचारीलाई दुई दिनको तालिम दिएर सह–सचिव, उप–सचिव, शाखा अधिकृत र प्राविधिक गरी चार जनालाई प्रदेशसभामा पठाएको थियो। १५ दिनका लागि भनेर माघ १४ गते गएका सह–सचिवहरू तीन नम्बरमा गएका रोजराज पाण्डे र सात नम्बरमा गएका मुरारी महत फर्किइसकेको सचिवालयले जनाएको छ।

आइतबारसम्ममा सबै सह–सचिव फर्किने सचिवालयको भनाइ छ। सचिवालयका अरू तीन कर्मचारीहरू भने एक महिनासम्म रहने गरी पठाइएको छ।

प्रदेश एकमा सचिव वीरेन्द्रबहादुर कार्की, तीन र पाँचमा सचिव हिमलाल सुवेदी, दुईमा घनेन्द्र चिमोरिया, चारमा संसद् सचिवालयका प्रवक्तासमेत रहेका डा. भरतराज गौतम, छमा अर्जुनकुमार खड्का र सातमा दुरा अनुगमनमा जानुभएको थियो। कार्की र सुवेदीबाहेक अरू सह–सचिव हुनुहुन्छ।

कर्मचारी प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद भुसालले सचिवालयका कर्मचारीको भरमा मात्र संसद् बैठक चलाउनुपरेको बताउनुभयो। ‘प्रशासनका कर्मचारी नजाँदा संसद् सचिवालयका कर्मचारीलाई निकै अप्ठेरो परेको छ’, भुसालले भन्नुभयो– ‘संघीयता कार्यान्वयन गर्ने सवालमा शुरूदेखि नै कर्मचारीको असहयोग भयो, सरकारले खटाएका ठाउँमा सबै कर्मचारी जानुपर्छ।’ भुसालले तीन नम्बर प्रदेशमा दुई जना नायब सुब्बा र एक जना कार्यालय सहायक थप गरी बैठक सञ्चालनका लागि पठाइएको जनाउनुभयो।

प्रदेशसभाका लागि समन्वय गर्न उप–सचिव रामकुमार पौडेल प्रमुख रहेको प्रदेशसभा समन्वय तथा सम्पर्क शाखा गठन गरिएको छ। शाखाका अधिकृत बाबुराम बस्यालले प्रदेशसभाको बैठक सञ्चालन, सभामुख, उप–सभामुखको निर्वाचन, कर्मचारी व्यवस्थापनलगायत विषयमा जानकारी राखिने र आवश्यक परे सहजीकरण गरिने बताउनुभयो। ‘प्रदेशसभामा केही समस्या भए त्यो गुनासो शाखामा आउँछ र के गर्नुपर्ने हो समन्वय गर्छौं।’ –सह–सचिव दुराले भन्नुभयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले कर्मचारी नपुगेको गुनासो नआउने गरी व्यवस्थापन गरिने बताउनुभयो। ‘कर्मचारी पठाउने काम सामान्य प्रशासन मन्त्रालयको हो, कोही बाटामा जाँदै होलान्, पठाएपछि जानैपर्छ’, शर्माले भन्नुभयो– ‘संघीयता नयाँ अभ्यास भएकाले यसलाई सफल पार्न कर्मचारीको भूमिका पनि महŒवपूर्ण हुन्छ, त्यसैले पनि कर्मचारीले पनि जिम्मेवारी वहन गर्नुपर्छ।’

संसद् सचिवालयले संसद् बैठकका लागि तयारी पूरा भएको जनाएको छ। ‘राष्ट्रपतिले बैठक आ≈वान गरेको सात दिनभित्रैमा हामी बैठक बसाउन सक्षम छौं।’ –सचिवालयका सह–सचिव तथा प्रवक्ता डा. गौतमले भन्नुभयो। यही ९ वा १० गते संसद् बैठक बोलाउने सम्भावना रहेको स्रोतले जनाएको छ।

संसद् बैठक सञ्चालनका लागि सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिले बनाउँदै गरेको अन्तरिम कार्यविधिले आजसम्म अन्तिम रूप पाउने सचिवालयले जनाएको छ। कार्यविधिमा सरकारले विश्वासको मत लिने, सभामुख र उप–सभामुखको निर्वाचनका साथै नियमावलीसम्बन्धी समिति बनाउनेसम्मका कार्यहरू समेटिने गौतमले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्