पुरुषको भेषमा बहुविवाह गर्ने महिला पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
भारतमा प्रहरीले पुरुषको भेष धारण गरी दाइजोका लागि दुई महिलालाई झुक्याएर विवाह गरेको आरोपमा एक महिलालाई गिरफ्तार गरेको छ।

भारतको उत्तरी राज्य उत्तरखण्डमा दाइजो मागेको कारण कृष्णा सेनलाई बुधकार पक्राउ गरिएको हो।

भारतमा दाइजो माग्नु अवैधानिक मानिन्छ। प्रहरीले सोधपुछ गर्ने क्रममा मात्र कृष्णा महिला भएको भेद खुलेको बीबीसीलाई बताएको छ। विगतमा स्विटीको नामले चिनिने २६ वर्षीया सेनले सन् २०१४ मा पहिलो विवाह गरेयता पुरुषको भेष धारण गर्न थालेको बताइएको छ।

वरिष्ठ प्रहरी अधिकारी जनमेजय खन्दारीले शुरूमा आफूहरूले कृष्णाको कुरा बुझ्न नसकेको र मेडिकल परीक्षण गरेपछि मात्र उनी महिला भएको पत्ता लागेको बीबीसीलाई जनाएका छन्। सेनले विवाह गरेको केही समयपछि नै पहिलो पत्नीसँग छुट्टिएर बस्न थालेको र सन् २०१७ को अप्रिलमा दोस्रो पत्नी विवाह गरेको बताइएको छ।

उनका पूर्व ससुरा–सासूहरूले उनले आफ्ना छोरीहरूलाई दाइजोको विषयलाई लिएर सताउने गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए। तिनीहरूले कृष्णाले व्यापार व्यवसाय शुरू गर्छु भनी लिएको ८ लाख ५० हजार भारु पनि फिर्ता नगरेको आरोप लगाएका छन्।

विवाहको समयमा माइती पक्षबाट कन्यालाई दाइजो दिने दक्षिण एसियाको शताब्दीयौं पुरानो प्रथा हो। दाइजोका रूपमा माइतीले छोरीलाई हैसियतअनुसार गरगहना, नगद र अन्य सरसामान दिने प्रचलन छ। तर यो प्रथालाई भारतमा सन् १९६१ देखि अवैध घोषित गरिएको हो।

सेनले प्रहरीसमक्ष बयान दिने क्रममा आफू सानैदेखि केटोको जीवन बाँच्न चाहेको बताएकी छिन्। तर सेनको परिवारले उनको करतुत थाहा भएको वा नभएको भन्ने स्पष्ट हुन सकेको छैन। अझै रमाइलो कुरा त के हो भने उनीसित विवाह गर्ने दुवै महिलाले उनी महिला भएको शंकै गर्न नसकेको बताइएको छ।

अनुसन्धानकै क्रममा सेनले कहिल्यै पनि आफ्ना पत्नीका सामु लुगा खोल्ने नखोल्ने र तिनीहरूसँग उनले यौन सम्पर्क पनि नराख्ने गरेको खुल्न आएको छ। प्रहरीका अनुसार अधिकांश पुरुष साथी भएका सेनले पुरुष शौचालय नै प्रयोग गर्ने र भिन्नै आवाज बनाएर बोल्ने गरेकी थिइन्। अरूले शंका नगरोस् भन्ने उद्देश्यले सेनले चुरोट तान्ने, रक्सी खाने र पुरुष साथीहरूसँग मोटरसाइक चलाएर हिँड्ने गरेकी थिइन्। अर्का एक प्रहरी अधिकृतले सधैं पुरुष हेयर स्टाइल र पोसाकमा हिँड्ने हुनाले कसैले पनि उनी महिला होलिन् भनेर कल्पनासमेत नगरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्