फ्लोरिडा गोली कान्डका आरोपीद्वारा अपराध स्वीकार, घटनापछि म्याकडोनाल्ड्स पुगेका थिए



फ्लोरिडा, (एजेन्सी)
फ्लोरिडाको एक स्कुलमा बुधबार १७ जनाको हत्या गरेको आरोपमा हिरासतमा लिइएका संदिग्ध किशोरले आफूले गोली प्रहार गरेको स्वीकार गरेको प्रहरीले बताए।

१९ वर्षीय निकोलस क्रुजले आफूले क्याम्पस पुगेपछि हतियार छोड्नु अगाडिसम्म छात्रछात्रामाथि गोली प्रहार गरेको र त्यहाँबाट भागेको बताएको अदालतको एक दस्तावेजमा उल्लेख गरिएको छ। १७ जनाको सुनियोजित हत्या आरोप लागेका ती किशोरलाई अदालतमा उपस्थित गराइएको थियो।

एफबीआईले उनको बारेमा गत वर्ष नै केही सूचना प्राप्त गरिसकेको स्विकारेको छ। फ्लोरिडाको पोर्कल्यान्डस्थित मर्जोरी स्टोनम्यान डग्लस हाइस्कुलमा भएको उक्त आक्रमण सन् २०१२ पछिको अमेरिकी स्कुलमा भएको सबैभन्दा घातक हो।


गोलाबारीमा १४ विद्यार्थी र ३ शिक्षकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। हिरासतमा पर्नुअगाडि आरोपी म्याकडोनाल्ड्स र सबवेमा पुगेका थिए। यस घटनापछि फ्लोरिडाका सबै नागरिकहरूले कसरी एक मानसिक रुपमा अस्थिर युवाको हातमा खतरनाक हतियार पुग्यो र भविष्यमा यस्ता कुनै घटना हुन नदिने जिम्मेवारी कसरी तय हुनुपर्छ भन्ने प्रश्न उठाएका छन्।

अमेरिकाको इतिहासकै यो दोस्रो ठूलो स्कुल नरसंहार हो। अनुसन्धान टोलीका अनुसार स्कुलबाट निस्केपछि आक्रमणकारी शुरूमा मल्टिब्रान्ड स्टोर वालमार्ट पुगेको र त्यसपछि उनले म्याकडोनाल्ड र सबवेमा पनि केही समय बिताएका थिए।

‘म प्रोफेसनल स्कुल सुटर बन्छु
जाँच टोलीले स्टोनम्यान डग्लस हाइस्कुलमा भएको गोलाबारी गर्ने व्यक्तिको मानसिक स्थिति र उक्त हत्याकाण्ड मच्चाउनु पछाडिको के कारण रहेको छ, पत्ता लगाउने प्रयासमा जुटेको बताइएको छ। उक्त विभत्स नरसंहार गर्ने क्रुज सोही स्कुलका पूर्वछात्र हुन्। अहिलेसम्म उनी अत्यन्तै अशान्त प्रवृत्तिको भएको पत्ता लागेको छ। साथै उनीसँगको व्यवहारमा कयौं समस्या थियो।

क्रुजको मानसिक स्थिति जाँचमा प्रहरी र एफबीआईले गत वर्षको एक युट्युब भिडियो फेला पारेका छन्। एउटा भिडियोमा क्रुजले कमेन्ट गरेका थिए– ‘म प्रोफेसनल स्कुल सुटर बन्छु।’ एफबीआईले उक्त भिडियो पोस्ट गर्ने बेन बेनिट नामक व्यक्तिसँग पनि सोधपुछ गरेका छन्।

क्रुजलाई बिहीबार नै अदालतमा उपस्थित गराइएको थियो। क्रुजलाई सुनियोजित हत्याकाण्ड घटाएको आरोपमा अदालतले बिनाजमानत जेलमा राख्न आदेश दिएको थियो। उक्त घटनामा दुई दर्जनभन्दा धेरै घाइते भएको जनाइएको छ। उनले अदालतमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

ट्रम्पप्रति आक्रोश
क्रुजको यस नरसंहारमा १५ वर्षीय अलासा अलहादेफको पनि मृत्यु भयो। उनी उक्त गोलीकाण्डमा मारिने सबैभन्दा कम उमेरका पीडित हुन्। आफ्नी छोरी अलहादेफ गुमाएकी महिलाले एक समाचार च्यानलमा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोश व्यक्त गरेकी छिन्। उनले राष्ट्रपति ट्रम्पलाई केही कडा कदम चाल्न आह्वान गरेकी छिन्। लोरीले भनिन्– ‘कृपया तपाईं केही गर्नुस्… यस्तो नरसंहार पुनः नहोस्, यसका लागि तपाईंले केही गर्नुपर्नेछ।’ उनले ट्रम्पलाई हतियारको प्रयोग तथा खरिदमाथि रोक लगाउन पनि माग गरेकी छिन्। बच्चाको हातमा हतियार पर्न नदिने कानुन बनाउन पनि लोरीले आग्रह गरिन्।

नायक कोचले आफ्नो ज्यान दिए
गोली प्रहारमा मृत्यु हुनेमा स्कुलका फुटबल कोच आरोन फेस पनि परेका छन्। फेस स्कुलमा असिस्टेन्ट फुटबल कोचसँगै सुरक्षा गार्डको पनि काम गर्थे। स्कुलका बच्चालाई बचाउनका लागि फेसले गोली प्रहार गर्ने किशोरको अगाडि आएका थिए। उनको पछाडि रहेका विद्यार्थीलाई बचाउन उनले त्यसो गरेका थिए। गोली लागेका फेसलाई पछि अस्पतालमा लगिएको र त्यहाँ उनको मृत्यु भएको थियो।

फेसका कारण कयौं बच्चाको ज्यान बच्यो। आरोन फेससँगै एथ्लेटिक्स कोच क्रिस हिक्सन र छात्र जेमी गुटनवर्ग सबैभन्दा पहिला मृतकका रुपमा पहिचान भएका ३ जनामा पर्छन्। एक प्रत्यक्षदर्शीले भने– ‘आरोन स्कुलमा रहेका तथा विद्यार्थीलाई बचाउनका लागि कुनै देवदूतजस्तै अगाडि आए। उनी गोली र छात्रछात्राको बीचमा पर्खालका रूपमा उभिएका थिए। उनले कयौंको ज्यान बचाए। डगलस फुटबल टोलीले आरोन फेसको मृत्युप्रति दुःख व्यक्त गर्दै उनले एक नायकले जस्तो आफूहरूको जीवन रक्षा गरेको र उनलाई सदा स्मरण गरिरहने उल्लेख गर्दै एक विज्ञप्ति जारी गरेको छ। ओरोन फेस स्कुलमा विद्यार्थीबीच साथी जस्तै र जिम्मेवार व्यवहारका कारण अत्यन्त लोकप्रिय थिए।

प्रतिक्रिया दिनुहोस्