सडक सुरक्षा अडिटमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल इन्जिनियर्स एसोसिएसनले नेपालमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न सरकारलाई १७ बुँदे सुझाब दिएको छ। सडक दुर्घटनाको मुख्य कारण मापदण्डको अभाव तथा कार्यान्वयन समस्या रहेको बताउँदै एसोसिएसनले सडक सुरक्षा अडिट गर्नुपर्ने सुझाव सरकारलाई दिएको हो।

सडक सुरक्षा विषयमा भएको दुई दिने सडक सुरक्षा सम्बन्धी राष्ट्रिय सम्मेलनको सुझावलाई विश्लेषण गरी एसोसिएसनले १७ बुँदे निष्कर्ष निकालेको हो। कार्यशालामा विभिन्न देशका २ सयभन्दा बढी प्रतिनिधिको पाँच प्यानलमा छुट्टिएर छलफलमा सहभागी थिए।

मुख्यरूपमा सडक सुरक्षाको अडिट निर्देशिका विकास गरी कार्यान्वयनमा ल्याएको खण्डमा हालको दुर्घटनालाई आधा मात्रामा कम गर्न सकिने निष्कर्ष निकालिएको छ। नेपालमा हाल सडक दुर्घटनामा हुने घोइतेमध्ये ६० देखि ८० प्रतिशतको मृत्यु अस्पताल लैजाने क्रममा बाटोमै हुने गरेको अवस्था रहेको छ। सडक निर्माणको पर्याप्त मापदण्ड नहुँदा तथा भएका मापदण्ड पनि सरकारले कार्यान्वयनमा नआउँदा यस्ताखाले दुर्घटनामा पर्ने घाइते समयमै अस्पताल पुर्याउन नसकिने भएको हो।

अडिटअन्तर्गत पहिलो चरणमा फिजिबिलिटी अध्ययन दोस्रोमा सडकको डिजाइन, तेस्रोमा निर्माणको समयमा र चौथोमा सवारी चलाउन शुरू गर्न पूर्व अडिट गरिनुपर्ने सुझाव एसोसिएसनले सरकारलाई दिएको छ।

सुझावमा नेपालमा शहरी सडक निर्माण गर्दा अपनाउन मापदण्ड नभएकाले सडक सुरक्षा प्राथमिकतामा नपरेको उल्लेख छ। एसोसिएसनका अनुसार सडक दुर्घटनामा दैनिक रूपमा हुने मानवीय तथा भौतिक क्षतिको सामना गर्नुपरेको छ। यस्ता क्षति न्यूनीकरण गर्न तथा हुन नदिन अहिलेसम्म कुनै संस्था तथा व्यक्तिले काम नगरेको एसोसिएसनको दाबी छ। एसोसिएसनका अनुसार भएका केही प्रयास पनि कम छैनन्। यद्यपि, सरकारले सन् २०२० सम्म यस्ता दुर्घटना आधा कम गर्ने प्रतिबद्धता जनाएको छ।

सम्मेलनमा सहभागी विज्ञले सडक सुरक्षामा विशेष गरी पूर्वाधार निर्माण, सवारी साधन व्यवस्थापन, सडक प्रयोगकर्ता सचेतना आवश्यक रहेको औंल्याएका थिए। हाल सडक सुरक्षाको ऐनको मस्यौदा २ वर्षदेखि सरकारले अनुमोदन गरेको छैन। सरकारले चाहेमा नेपालमा हुने दुर्घटनालाई कम गर्न सकिने तर त्यसो नगरेकोमा एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनको सुझावमा सडक सुरक्षाका लागि नेपाल सडक सुरक्षा समिति स्थापना हुनुपर्ने, नेपाल सडक सुरक्षा कार्ययोजनालाई समन्वयात्मक रूपमा कायान्वयनमा लैजानुपर्नेलगायतका बुँदा उल्लेख छन्।

त्यसैगरी सडकमा हुने दुर्घटनालाई विकसित मुलुकमा विद्यालय स्तरबाट नै पठन पाठन गरिने गरेको भए पनि नेपाललमा भने हालसम्म यस्तो शिक्षाले प्राथमिकता नपाउँदा नेपालको दुर्घटना कम हुनको साटो बढिरहेको कुरा सुझावमा उल्लेख छ। दुर्घटनामा पर्नेका लागि ट्रमा सेन्टरको चुस्त सेवाबाट उपचारको व्यवस्था गर्नुपर्ने, आईओई पुल्चोकमा सडक सुरक्षा केन्द्रको स्थापना गर्ने तथा नेपाली सडकमा कस्तो सवारी चलाउने भन्ने बारेमा मापदण्ड नियमन भइ नेपालको सडक जीर्ण हुनबाट जोगाउनुपर्ने सुझाव दिइएको छ।

सम्मेलन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एसोसिएसनको संयुक्त आयोजनामा भएको थियो। गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञले नेपालको सडक सुरक्षाको चुनौति र भावी कार्यानितिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्