बढ्दो व्यापारघाटाप्रति उपराष्ट्रपतिको चिन्ता



नरेन्द्र केसी, दाङ
उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्नुभएको छ। दाङको घोराहीमा शुरू भएको प्रादेशिक व्यापार महोसत्वको उद्घाटन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो।

‘कुनै पनि देशको आर्थिक उन्नतीको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले गरेको हुन्छ। जुन देशको निकासी बलियो हुन्छ, त्यस देशको आर्थिक समुन्नती छिट्टै हुने गर्दछ। तर, आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएका हामीले निरन्तरको आयात वृद्धि र त्यसबाट बढिरहेको व्यापारघाटाको चुनौती ब्यहोरिरहेका छौं’– उहाँले भन्नुभयो– ‘चालू आर्थिक वर्षको छ महिनामा हाम्रो व्यापारघाटा वृद्धि भएर पाँच खर्ब पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्म हाम्रो यो वर्षको कुल वार्षिक बजेट बराबरको व्यापारघाटा ब्यहोर्नुपर्ने संकेत देखा परेको छ। यो ज्यादै चिन्ताको विषय हो।’

अप्ठ्याराहरूका बीच आर्थिक समृद्धिको मार्गमा अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले राजनीतिक रूपमा संक्रमणको अन्त्य हँुदै स्थिरताको शुरूवात हुन थालेकोमा भने खुशी व्यक्त गर्नुभयो। ‘यसै वर्ष नेपाली राजनीतिक संघर्षको उपलब्धिलाई संस्थागत गर्न संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्’– उहाँले भन्नुभयो–‘सबै तहमा सरकार बनिरहेका छन्। सामाजिक रूपमा विभिन्न कालखण्डका ऐतिहासिक उपलब्धिका रूपमा शासन सत्तामा सबै समुदायको पहुँच पुगेको छ र विभेद कम हुँदै गएका छन्।’

अब सबैको ध्यान समृद्ध नेपाल निर्माण गर्न केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्न सबै अगाडि बढ्नुको विकल्प हामीसँग नभएको बताउनुभयो। ‘हामीसँग समृद्धिका लागि प्रशस्तै आधार छन्। प्राकृतिक स्रोत साधनमा हामी अत्यन्त धनी छौं। प्रकृतिको अनुपम उपहारको रूपमा रहेको हाम्रो प्राकृतिक स्रोत साधनको उच्चतम सदुपयोगबाट हामीले छोटै समयमा समृद्धि हासिल गर्न सक्छँैं’– उहाँले थप्नुभयो–‘जलविद्युत्, कृषि, पर्यटन, खनिज पदार्थ, जडिबुटी, उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासका माध्यामबाट नेपाललाई छिट्टै विकसित मुलुकको सूचीमा उभ्याउन सक्छौं।’ निर्यात व्यापारलाई उल्लेख्य मात्रामा वृद्धि गरी व्यापारघाटालाई सन्तुलनमा ल्याउनुपर्नेमा जोड दिँंदै उहाँले लाखौं पर्यटक भित्र्याई वैदेशिक मुद्रा आर्जन गनुपर्ने बताउनुभयो।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ सरकार बनेसँगै संक्रमणकाल सकिने धारणा राख्दै अब आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो। एक अर्को प्रसंगमा उहाँले सुरक्षा संवेदनशीलताका हिसाबले बुटवल प्रदेश नम्बर ५ को राजधानी बन्न नसक्ने उल्लेख गर्दै स्थायी राजधानीका लागि प्रदेशसभा गम्भीर बन्नुपर्ने बताउनुभयो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा शुरू भएको महोत्सव फागुन १३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्