अक्सेल बने पाको च्याम्पियन



सियोल, (एजेन्सी)
दक्षिण कोरियामा जारी शीतकालीन ओलम्पिक खेलकूदअन्तर्गत बिहीबार नर्वेका ३५ वर्षीय अकसेल लुन्ड स्विन्डल सबैभन्दा पाको च्याम्पियन बनेका छन्।

एल्पाइन स्कीइंगमा स्वर्ण पदक जित्दै उनी सबैभन्दा पाको उमेरका च्याम्पियन बनेका हुन्। योसँगै उनले जारी ओलम्पिकको डाउनहिल रेसमा नर्वेलाई पहिलो स्वर्ण पदक समेत दिलाए। अक्सेलले नर्वेकै जेटिल जन्सरुडलाई मात दिएर उक्त स्वर्ण जितेका हुन्। अक्सेलले जेटिललाई मात्र शून्य दशमलव १२ सेकेन्डले मात्र पछि पारेका थिए। यस्तै स्विजरल्यान्डका बीट फ्यूजले भने कांस्य पदकमा आफ्नो नाम लेखाए। अक्सेलले सन् २०१० मा भ्यानकुभरमा आफ्नो पहिलो स्वर्ण जितेका थिए। त्यसपछि सन् २०१४ को सोची हिउँदे ओलम्पिकमा उनी चौथो स्थानमा सीमित भएका थिए। सन् २०१६ को जनवरीमा चोटग्रस्त बनेका उनी सन् २०१७ को डिसेम्बरमा डाउनहिल विश्वकपको च्याम्पियन बनेका थिए।

प्रशंसकहरूले फहराए रसियाली झन्डा
डोपिंगका कारण प्योङचाङ ओलम्पिकमा रसियालाई प्रतिबन्ध गरिएको छ। जसका कारण अहिले रसियाली खेलाडीले ओलम्पिक ध्वजामुनि प्रतिस्पर्धा गरिरहेका छन्। तर प्रशंसकहरूले भने खेलस्थलमा गर्वका साथ रसियाको झण्डा फहराउँदै गरेको दृश्य देखिन थालेको छ। जसमध्ये कतिपय प्रशंसकहरूले रसियालाई प्रतिबन्ध गरेका कारण झनै देशभक्ति उजागर गर्न प्रेरित भएको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्