बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ



राजविराज, (नेस)
बहिनीलाई बलात्कार गरी हत्या गरेको आरोपमा सप्तरीको खडक नगरपालिका ९ का १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार राजदेवले गत माघ २५ गते काकाकी छोरी १३ वर्षीया पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेका थिए।

आफ्नै कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको एसपी मुकेशकुमार सिंहले बताए। मृत्युपछि शवलाई गाउँमै जलाउने प्रयास हुँदै गर्दा केही आफन्तले बचाउन सकिन्छ भन्दै अस्पताल लान दबाब दिएपछि घट्ना सार्वजनिक हुँदै गएको सिंहको भनाइ थियो। अस्पतालले बालिकालाई मृत घोषणा गर्दै घाँटीको डाम देखेपछि प्रहरीलाई खबर गरेको थियो। पोस्टमार्टमका क्रममा डाक्टरले नै बलात्कारको आशंका गरेपछि प्रहरीको अनुसन्धानबाट बलात्कारपछि हत्या भएको खुलेको एसपी सिंहले जानकारी दिएका छन्।

पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ। यसअघि बिहीबार २ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका अभिभावकको मौखिक उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्