कृलाई एक सातामा ५ करोड ४० लाख



फिल्म निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टारर फिल्म कृले रिलिजमा आएको एक सातामा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ। फिल्मको निर्माण संस्थाले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कृले ६ दिनमा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको जानकारी गराएको हो।

फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीले फिल्मले ६ दिनमा देशभरका १ सय १८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्सन गरेको बताए। निर्माता गिरीका अनुसार फिल्मले ५ करोड ५० लाख ग्रस कलेक्सन गर्दा आफ्नो हातमा २ करोड ४० लाख पर्ने खुलाए। फिल्मको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेकाले कृले हालसम्म ३ करोड ७० लाख रुपियाँ निर्माताको हातमा सुरक्षित गरेको बताए। उनका अनुसार फिल्म निर्माणमा साढे ३ करोडभन्दा बढी लगानी भएको छ। निर्माता गिरीले दोस्रो सातामा पनि फिल्म ८० वटा हलमा चल्ने बताए। ‘अबको साताको सम्पूर्ण रकम मुनाफामा हुनेछ’ –गिरीले भने।

अर्का निर्माता भुवन केसीले फिल्म ठूलो लगानीमा बने पनि दर्शकले मन पराइदिएको बताए। ‘हाम्रो प्रतिस्पर्धा नेपाली फिल्मसँग नभई हिन्दी फिल्मसँग हो। कृले ठूलो हिन्दी फिल्मलाई समेत पछारिदिएको छ’ –भुवनले भने। निर्देशक सुरेन्द्र पौडेलले आफूहरूको मिहिनेत सफल भएकोमा खुसी व्यक्त गरे।

फिल्ममा अनमोल र अदितीका साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राना, लक्ष्मी गिरीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्