बाबुआमाको मन छुने रचना



दाङ। आधुनिकतासँगै सन्तानबाट तिरस्कृत हुने वृद्धवृद्धाहरूको पीडा लिएर दाङकी ममता बस्नेत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छिन्। १३ वर्षिया बस्नेतले सन्तानको वियोगमा तड्पिएका हजारौं बाबुआमाको पीडा बोल्ने गीत गाएर छोटो समयमै चर्चा कमाइन्। सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिदै दिनरात बिताउने बुबाआमाको वेदना गीतमा पेखेकी छिन्।

तिम्रा लागि म त सधैँ सबै सामु झुकेँ
हुर्काउँदा, बढाउँदा भन कहाँ चुकेँ।
तिमी हाँस्दा हाँसिदिएँ रुँदा रोइदिएँ
तोतेबोली सम्झी तिम्रो बचन छल्दै लुकेँ।
आफूलाई भन्दा पनि बढी माया गर्ने सन्तानले चटक्कै छोडिदिँदाको अवस्थालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै बस्नेतले बाबुआमाको हेरचाहमा लाग्न सन्तानलाई आग्रह गरेकी छिन्। सन्तानका हरेक गल्ती, कमजोरी सजिलै भुल्ने बुबाआमालाई वृद्धाश्रममा अलपत्र छाडेर जाने सन्तानहरूलाई लक्षित गर्दै गायिका बस्नेतले आफूलाई जन्माउने, हुर्काउने, बढाउने आमाबाबुलाई उच्च सम्मानका साथ बाँच्न दिने अवस्थाको सिर्जना हरेक सन्तानले गर्नुपर्ने सन्देश दिएकी छिन्।
माया ममता बिर्सिएर कसरी छाडी गयौ
मन्दिरमा बिन्ति चढाई तिम्रै बाटो ढुकेँ।

सानैदेखि गायनमा रुचि राख्दै आएकी गायिका बस्नेतले आफ्नो ‘करियर’ शुरूवातमै सन्देशमूलक गीत लिएर आएकी छिन्। उनको गीत छोटो समयमै धेरै रुचाइएको छ। एकनारायण चापागाईंको शब्द र विपिन घिमिरेको संगीत रहेको गीतलाई ममताको स्वरले उत्कृष्टता प्रदान मात्र गरेको छैन, हजारौं बाबुआमाको मन छुन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्