प्रधानमन्त्रीलाई बधाईको ओइरो



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाई दिएका छन्। नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ।

सो मुलुकका तर्फबाट पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत कार्य सफलताको शुभकामना पठाएको हो। विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– ‘पाकिस्तान विश्वस्त छ, अब नेपाल आर्थिक विकास र समृद्धिमा अघि बढ्नेछ, पाकिस्तान नयाँ नेतृत्वसँग अझ निकट र मित्रवत् सम्बन्ध बढाउन चाहन्छ।’

यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले पनि ओलीलाई शुभकामना व्यक्त गर्दै कार्यकालको सफलताको कामना गरेको छ। सार्कको संस्थापक एवम् वर्तमान अध्यक्ष राष्ट्र नेपालले नयाँ कार्यकारी प्रमुख पाएकाले सार्कका लक्ष्य र उद्देश्य प्राप्तिमा सघाउ पुग्ने सचिवालयले जनाएको छ।
सार्क महासचिव अम्जाद हुसियान वी सियालले विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै ओली नेतृत्वको सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ। मोदीले प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो। टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उहाँको निजी निवासमा आउनेको भीड लागेको थियो।

प्रतिक्रिया दिनुहोस्