बिहे गर्छौ मलाई ?



भरत पौडेल
तौलियाले जवानीलाई टमक्क कसेर केशबाट पानी चुहाउँदै सरु बाथरुमबाट बाहिर निस्किइन्। मैले सोचेँ– मलाई देखेपछि उनी हत्तपत्त भित्र पसेर ढोका बन्द गर्नेछिन्। म अवाक भएँ, जब मेरै अगाडि निहुँरिएर अनुहार देखाउँदै सोधिन्– ‘म कस्ती देखिएकी छु ?’ ओहो ⁄ ‘सातो जानु भनेको यही हो। उनले निकै बेर जवाफको प्रतीक्षा गरिन्। हड्बडाउँदै मेरो मुखबाट निस्कियो– ‘सक्ने भए म तिम्रो हत्या गरिदिन्थेँ।’ उनको लामो हाँसोले मलाई गिज्याएझैँ लाग्यो।

उनले भनिन्– ‘म गलत छुइन भने यति बेला तिम्रो चेतनाको हत्या भएको छ। अचेतन जागेपछि न हो हत्याको इरादा आउने। जे होस्, तिम्रो साहसको म कदर गर्छु।’ बस्दै गर्नू भन्ने इशारा गर्दै भित्र पसिन्। कानमा उही वाक्य गुञ्जिरह्यो, ‘जे होस् म तिम्रो साहसको कदर गर्छु।’

केही बेरमा ढोका खुल्यो। मुस्कुराहटका साथ स्वागतको इशारा भयो। म असजिलो मान्दै भित्र पसेँ। जवानीलाई सम्हाल्न नसकिरहेका उनका पहिरनले आफ्नो अयोग्यता सौन्दर्यपूर्वक प्रदर्शन गर्दै थिए। मैले दृष्टि अन्तै मोडेँ। उनको आवाजले केही क्षणको मौनता चिर्यो– ‘मिस्टर उदय ! बन्दुकमा गोली सकियो कि तीरको चुचो मोडियो ? या गला थिच्ने हातहरू काँप्न लागे ?’ यति भन्दै उनी अगाडि आइन्। म छक्क परेँ।

उनले कपडा फेरिसकिछन्। मैले सोधेँ– ‘साडी नै किन नि ?
उनको उत्तर थियो– ‘अरे बुद्धु, साडीले देखाउने कुरा देखाउन र छोप्ने कुरा सजिलै छोप्न सकिन्छ। तिम्रो आँखाको ज्योति जाँदैन भने नियाल्न सक्छौ।’

केही समय गुजार्ने सोच थियो तर भंग भयो। हतारको बहाना रचेर म हिँडें। उनी ढोकामै उभिएर मुस्कुराइरहिन्। मैले उनलाई बिदाइको हात हल्लाएँ। यो अनावश्यक सतर्कता थियो वा आवश्यक, तर उनको जवानी र मेरो पुरुषार्थको धज्जी अवश्य उडायो। हिँडेपछि मनमा अनेक कुरा खेले। उनीसँग अर्को भेटको लागि सहजीकरण कसरी गर्ने ? आकर्षणले पहिलो पटक मलाई भगाएको थियो। यसले मलाई त सन्तुष्टि दिएन नै, उनलाई के भयो भन्न सक्दिनँ। म आफैंबाट आफैं अपमानित भएँ। उनले झन् के सोचिन् होला ⁄ मन भुटभुटिएर साँझ निद्रै परेन। हिउँदको रात तनमा चिसो र मनमा ताप लिएर म आफैंसँग कुस्ती खेलिरहेँ। बिहानीपख निदाएँछु क्यार, बाहिरको हल्लाखल्लाले निद्रा खुल्यो।

सरु मेरो कलेजकी साथी हुन्। मभन्दा पछाडिको सिटमा बस्थिन्। शिक्षकले पढाएको बेला उनको हल्ला गर्नेे बानी थियो। कहिलेकाहीँ म भन्ने गर्थें– ‘जिब्रो काटिदिऊँ ?’ ‘मानविकी पढेर डाक्टर भएका धेरै छन्’, उनी जिस्किँदै भन्थिन्। धेरै समयपछि भएको हो यो भेट उनीसँग। विरक्तिएको बेला पुराना साथीहरूको याद आउँछ। आफ्नोपन महसुस हुन्छ। केही समय भए पनि खुसानुभूति हुन्छ। थाहा छैन, उनी विरत्तिएकी थिइन् या संयोगले फोन गरिन् मलाई। चिन्न निकै गाह्रो भएको थियो फोनमा। धेरै बेरको कुराकानीपछि भनिन्– ‘बिहे गर्छौ मलाई ?’ अनि मात्र चिनेँ। कलेजमा यसै भनेर सधैँ जिस्क्याउँथिन् मलाई।

बिउँझिदा देखेँ, केही प्रहरीहरू कसैलाई पक्राउ गरिरहेका थिए। एकाबिहानै होटलको कोठाबाट पक्राउ पर्ने अधबैंसे जोडीजस्तो अभागी यो दुनियाँमा कोही हुँदैन। लुकीचोरी पैसा खर्च गरेर होटलसम्म जानु, त्यहीँ पक्राउ पर्नु र अपराधीको श्रेणीमा दरिनु, यो भन्दा दुःखद कुरा के होला जीवनमा। यस्तै सोच्दै थिएँ, पक्राउ परेको अनुहार मपट्टि फर्कियो। मेरो मनले तीनचित खायो। त्यो परिचित अनुहार थियो। फरक यति हो कि हिजो बेलुका भेटेको जस्तो आकर्षण थिएन अनुहारमा। केवल बनावट मात्र उही थियो। रंग उडेको फूलजस्तो। निचोरेको कागतीजस्तो। एकाएक बेरस लाग्यो त्यो अनुहार। फेरि सरुले सोध्न सक्छिन् या सक्दिनन् होला ‘बिहे गर्छौ मलाई ?’ भनेर।

प्रतिक्रिया दिनुहोस्