कारागारभित्रैबाट आम्दानी



सरोज यादव, विराटनगर

आफूसँग सीप भएपछि जहाँ भए पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मोरङ कारागारका कैदीहरूले दिएका छन्। कारागारमा कैद भुक्तानी गरिरहेका कैदीले सीपमूलक व्यवसायमा संलग्न भएर मनग्गे आम्दानी गर्न सफल भएका छन्। विराटनगरस्थित मोरङ कारागारमा सीपमुलक व्यवसाय सञ्चालनका लागि कारागार प्रशासनले व्यवस्थापन गरेपछि कैदीले कारागारबाटै सीपमुलक व्यवसाय सञ्चालन गरेर आर्थिक स्रोत जुटाइरहेका छन्।

उनीहरू टोपी बुनेर तथा मुडा र फनिर्चर बनाएर आम्दानी गर्न सफल भएका छन्। सीप भएका कैदी व्यवसायमा संलग्न छन् भने सीप नजान्ने कैदीसमेत सीप सिक्न व्यस्त छन्। कैदी सामूहिक रूपले व्यवसाय सञ्चालन गरेर आम्दानी गरिहेका छन्। कारागारमा मुढा उत्पादनमा लागेका तीर्थ दाहालले मुढा बिक्री गरेर आएको रकमले परिवार धान्न निकै सहयोग पुगेको बताए।

कारागारभित्रका तीनसय बढी कैदीहरू टोपी बुन्ने तथा मुडा र फर्निचर बनाउने पेशामा सलग्न छन्। कालिबहादुर राई विगत पाँच वर्षदेखि कारागारमा टोपी बुन्ने व्यवसायमा संलग्न छन्। प्रशासनको सहयोगका कारण व्यवसाय सञ्चालनमा निकै सहयोग पुगेको उहाँको भनाइ छ।

व्यवसायमा संलग्न कैदीले मासिक १० देखि १२ हजार रुपियाँसम्म कमाउने गर्दछन्। कारागारका कैदीहरूले मासिक डेढसय मुडा तथा हप्तामा आठसय टोपी तथा अर्डर अनुसारको फर्निचर बनाउने गर्दछन्। व्यवसायका लागि स्थानीय स्तरबाटै कच्चा पदार्थ उपलब्ध हुने गरेको कारागारका चौकीदार अभिषेक गिरीको भनाइ छ।

कारागारमा उत्पादित वस्तु गुणस्तरीय हुने भएकाले त्यस्ता वस्तुको माग बजारमा निकै रहेको छ। टाढा–टाढाका व्यापारीसमेत कारागारमै आएर तयार पारिएका समान खरिद गरेर लाने गर्दछन्। कैदीको सीपलाई देखेर कारागारमा गार्मेन्ट सञ्चालन गर्ने तयारी भइरहेको कारागार प्रमुख प्रेमप्रसाद सापकोटाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्