उपाधि भिडन्तमा आर्मी र थ्री स्टार



गोकुल घोरसाइने, बारा

राको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब आमनेसामने हुने भएका छन्।

बिहीबार भएको दोस्रो सेमीफाइनलमा वीरगन्ज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै त्रिभुवन आर्मीले उपाधि भिडन्तमा थ्री स्टार क्लबसँग भेट पक्का गरेको हो। थ्री स्टारले मोरङ फुटबल क्लब विराटनगरमाथि ४–२ को जित निकाल्दै बुधबार अन्तिम दुईमा स्थान बनाइसकेको छ। आर्मीको जितमा दिनेश हेम्जन र दीप लामाले समान एक गोल गरे भने वीरगन्ज युनाइटेड क्लबका विष्णु सुनारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो।

साविक विजेता संकटा क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको वीरगन्ज युनाइटेड विभागीय टिम आर्मीसामु निरीह बन्यो। करिब ८ हजार घरेलु दर्शक माझ उत्रिएको वीरगन्ज युनाइटेडलाई त्रिभुवन आर्मीले पुरै समय दबाबमा राख्यो।

पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोलेका थिए। खेलको ३८औं मिनेटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए।

खेलको ६०औं मिनटमा वीरगन्ज युनाइटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पार्यो। आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयासमा सुनुवारले आफ्नै गोलपोस्टमा बल छिराएका थिए।

वीरगन्जविरुद्ध हावी भएको आर्मीले ६७औं मिनटमा तेस्रो गोल थप्यो। टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दीप लामाले सिमरा गोल्डकपमा त्रिभुवन आर्मीको फाइनल यात्रा तेस्रो पटक सुनिश्चित गरे।

त्रिभुवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेतासमेत हो। त्रिभुवन आर्मीले शनिबार सिमरा रङ्गशालामा उपाधिका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका दिनेश हेम्जन घोषित भए। उनले ५ हजार नगदसहित म्यान अफ दि म्याचको ट्रफी हात पारे।

प्रतिक्रिया दिनुहोस्