मकवानपुरका सरोज रियो छमछमीका विजेता



हेटौंडा, (नेस)। आकर्षक नृत्य क्षमताका मनहरी–७ निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता भएका छन्। घोषित नतिजाअनुसार उनी २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन्। उनले विजयी भएबापत् ड्याटसन रेडी गो कार पुरस्कार पाएका छन्।

देशभरबाट १२ हजार नृत्य कलाकारको प्रतिस्पर्धाबाट उनी विजेता बनेका हुन्। नेपाल टेलिभिजनबाट हरेक बुधबार राति प्रसारण हुँदै आएको नृत्यको रियालिटी सो रियो छमछमी कार्यक्रममा उनी विजेता भएका हुन्।

सानैदेखि नृत्य कुशलता देखाउँदै आएका सरोजले मनहरीका विभिन्न सार्वजनिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएका छन्। उनले यसअघि भारतीय च्यानलको डान्स सोहरुमा पनि भाग लिएका थिए। उनी मनहरीस्थित आस्था कला केन्द्रमा आवद्ध रही नृत्य गरिरहेका छन्।

एसएमएस भोटिङमार्फत् उत्कृष्ट छनोट हुने भएकाले उनलाई जतिसक्दो धेरै भोटिङ गर्न उनका सहकर्मी लागेका थिए। केन्द्रको पहलमा उनलाई मोबाइल भोटिङका लागि आर्थिक संकलन गरिएको थियो। आर्थिक संकलन गरी अधिकतम भोट गर्न केन्द्रले अभियान सञ्चालन गरेको केन्द्र सञ्चालक मनिष लामाले बताए। प्रतियोगितामा २ हप्ताअगाडि उत्कृष्ट ५ जना छनोट भएका थिए।

प्रतिक्रिया दिनुहोस्