फ्लोरिडाको स्कुलमा गोली प्रहार, कम्तीमा १७ जनाको मृत्यु आक्रमणकारी प्रहरी हिरासतमा



फ्लोरिडा, (एजेन्सी)
अमेरिको फ्लोरिडा राज्यको पार्कल्यान्डमा एक स्कुलमा भएको गोलाबारीमा कम्तीमा एक शिक्षकसहित १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

गोला प्रहारको संदिग्धको नाम निकालस क्रुज भएको र उनलाई प्रहरीले घटनास्थलबाटै हिरासतमा लिइसकेको बताइएको छ। १९ वर्षीय निकोलस स्कुलका पूर्वछात्र हुन् र उनलाई स्कुल केही दिनअगाडि मात्रै निस्कासन गरेको थियो।

निकोलसले स्कुलको फायर अलार्म बजाएकाले स्कुलका छात्रछात्राबीच भागदौड मच्चिएको र त्यसपछि उनले गोली प्रहार गर्न थालेको स्थानीय अधिकारीले सीबीएस न्युजलाई बताए।

गोली प्रहारपछि स्कुलका विद्यार्थी कक्षाकोठामै लुकेको र प्रहरीले विद्यालय परिसर तथा भवनहरूलाई घेराबन्दी गरेका थिए। गोली प्रहार भएको एक घण्टापछि ब्रोवार्ड काउन्टीका सुरक्षा कार्यालयले गोली प्रहार गर्ने व्यक्तिलाई हिरासतमा लिइएको जानकारी दिएको थियो।

उक्त कार्यालयले अहिलेसम्म १४ पीडितका बारेमा जानकारी प्राप्त गरेको जनाएको छ। यद्यपि उनीहरूको स्थितिका बारेमा जानकारी दिएको छैन। यसअघि स्टोनम्यान डगलस हाइस्कुलका सुपरिटेन्डेन्ट रोबर्ट रेन्सीले पत्रकारलाई स्कुलमा केही व्यक्ति हताहत भएको जानकारी दिएका थिए।
उनले भने– ‘संदिग्ध सम्भवतः पूर्वछात्र थिए र उनलाई हिरासतमा लिइसकेको छ भन्ने हामीलाई लागेको छ।’

एफबीआईले घटनालाई लिएर स्थानीय प्रशासनलाई मद्दत गरिरहेको बताए। अमेरिकी टेलिभिजन च्यानलहरूले स्कुलमा अध्ययन गर्ने छात्रछात्राका मातापिता ठूलो संख्यामा प्रहरी परिसरबाहिर जम्मा भएको जनाएका छन्।

ह्वाइट हाउसका प्रवक्ता लिन्डर्स वाटर्सले भने– ‘राष्ट्रपतिलाई फ्लोरिडाको स्कुलमा भएको घटनाबारे जानकारी दिइसकेका छौं । हामी त्यहाँको स्थितिलाई नजिकबाट बुझिरहेका छौं।’

फ्लोरिडाका गभर्नर रिक स्कटले गोली प्रहारको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेको बताए। राष्ट्रपति ट्रम्पले ट्विटरमा पीडित परिवारलाई सान्त्वना दिएका छन्।

ठूलो क्षेत्रफलमा फैलिएको उक्त स्कुलमा ३ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

आक्रमणका बेला निकोलसले एआर–१५ राइफल आफूसँग राखेको र उनीसँग प्रशस्त कारतुस रहेको स्थानीय प्रहरीले जानकारी दिए। कुलको ढोकाबाटै गोली प्रहार गर्न थालेका आक्रमणकारीपछि स्कुलको परिसरभित्रै प्रवेश गरेका थिए।

फायर अलार्म बजेपछि विद्यार्थी भवनबाट बाहिर निस्केका थिए। यसले आक्रमणकारी आफ्नो उद्देश्यमा सफल भएको छात्रछात्राले बताए। अमेरिकाको नेसनल काउन्सिलका अनुसार फ्लोरिडा अमेरिकाको तस्रो सबैभन्दा सुरक्षित मानिएको शहर हो। अमेरिकाको एक गैरसरकारी संस्थाको रिसर्चमा यो स्कुल वा त्यसको परिसर वरपर यसै वर्ष भएको १८औं गोलाबारीको घटना भएको उल्लेख गरिएको छ।

सन् २०१३ देखि अमेरिकामा स्कुलमा भएका गोली प्रहारको २ सय ९१ घटना भएका छन्। अर्थात् औसतमा प्रत्येक हप्ता स्कुलमा गोली प्रहारको एक घटना हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्