राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी शुरू



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी अघि बढाएको छ।

प्रतिनिधिसभाको समानुपातिकसहित प्रत्यक्ष निर्वाचित सदस्यहरूको नामावली सार्वजनिक गरेलगत्तै आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि तयारी थालेको हो। यही फागुन मसान्तसम्ममा निर्वाचन गर्ने तयारी अघि बढाएको आयोगले जनाएको छ। आयोगले निर्वाचनको कार्यतालिकासमेत तयारी गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि अब सरकारसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति र निर्वाचन कार्यतालिकाको घोषणा गर्ने बताउनुभयो। ‘निर्वाचनको कार्यतालिका बनाइसकेका छौं। सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि कार्यतालिका सार्वजनिक गर्नेछौं।’ –उहाँले भन्नुभयो।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ। संविधानअनुसार संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनबमोजिम फरक हुनेछ। संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ। संघीय संसद्मा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य हुनेछन्। प्रदेशसभामा ५ सय ५० सदस्य रहनेछन्।

राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ। निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ।

कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ। त्यसमा कुल मतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निवार्चित हुनेछन्।

संविधानको भाग ६ को उपधारा ५ अनुसार कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ। त्यस मतदानमा कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार आगामी ५ वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन्। राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ।

यसैबीच आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा बिहीबार आयोगमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवको अध्यक्षतामा बसेको बैठकमा आयोगको तर्फबाट यही फागुनको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएकामा दलहरूले आयोगको प्रस्तावलाई समर्थन गरेको जानकारी दिनुभयो।

छलफलमा पाँच राजनीतिक दल नेकपा एमालेका नेताहरू राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, केशव झा र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, डा. शिवजी यादव सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्