प्रधानमन्त्रीबाट राजीनामा दिँदै देउवाले भने– तीन तहको निर्वाचन सबैभन्दा ठूलो उपलब्धि



आफ्नो नेतृत्वको सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नयाँ सरकारलाई देउवाको आग्रह

रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै स्थानीय, प्रादेशिक र संघीय तीन तहको निर्वाचन सम्पन्न हुनु सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभएको छ। बिहीबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको सरकारले शान्तिपूर्णरूपमा तीन तहकै निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको महत्त्वपूर्ण एवम् चुनौतीपूर्ण कार्य सम्पन्न गरेको बताउनुभएको हो।

संविधान कार्यान्वयनको मुख्य पाटो तीन तहको निर्वाचन गर्ने चुनौतीपूर्ण कार्य सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै देउवाले यसबाट मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन बलियो आधारशिला निर्माण भएको पनि बताउनुभएको छ।

देउवाले संविधानसभाबाट संविधान निर्माण गर्ने कांग्रेस नेता बीपी कोइरालाको सपना पूरा भएको भन्दै संविधान निर्माण र संविधान कार्यान्वयन चरणको नेतृत्व गर्न पाउँदा आफू गौरवान्वित भएको पनि बताउनुभएको छ।

सभापति देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि जनसरोकारका विषयलाई केन्द्रमा राखेर आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न आउने सरकारलाई आग्रह पनि गर्नुभएको छ।

चिकित्सा शिक्षा आयोगको अध्यादेश, ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने, भूकम्प पीडितलाई थप एक लाख रुपियाँ अनुदान दिने, स्वदेशी लगानीमा विद्युत् उत्पादनका ठूला आयोजना निर्माण गर्ने तथा मन्त्रिपरिषद्ले गरेका विभिन्न राजनीतिक नियुक्तिलगायका विषयमा नेकपा एमाले तथा माओवादी केन्द्रले विरोध जनाइरहेका थिए।

एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली सिफारिस भएसँगै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै आउने नयाँ सरकारले आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो।

‘मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरू भएका छन्। विशेष गरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरू नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ’, देउवाले भन्नुभएको छ– ‘जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन। यसका केही आधारभूत पक्षहरू छन्, जसमाथि सम्झौता गर्न सकिन्न। मलाई विश्वास छ, आगामी सरकारले यसलाई अन्यथा गर्ने छैन।’

नेपालका पचासभन्दा बढी जिल्लामा औसत आयु सत्तरी वर्षभन्दा कम छ। यस्तो अवस्थामा ७० वर्षबाट घटाई ६५ वर्षभन्दा माथिका हाम्रा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप जीविकोपार्जनमा सहयोग पुर्याउन राज्यले भत्ता दिने निर्णय गरेको देउवाले बताउनुभएको छ। अनिवार्य स्वास्थ्य बीमा ऐनको कार्यान्वयन सँगसँगै क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीलगायत जटिल प्रकृतिका दीर्घरोगीलाई आजीवन मासिक ५ हजार जीवन निर्वाह भत्ता दिने निर्णयलाई पनि नयाँ सरकारले कार्यान्वयन गर्नुपर्ने देउवाको भनाइ छ। आफ्नो नेतृत्वको सरकारले मुलुकी ऐनलाई पनि समयसापेक्ष बनाएको देउवाले बताउनुभएको छ।

देशबासीका नाममा सम्बोधन गर्ने क्रममा देउवाले भन्नुभएको छ– ‘मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्णरूपमा आम सहभागितामा निर्वाचन गराउने प्रतिबद्धताहरू पूरा गरेको छु। संघीयता कार्यन्वयनका लागि नयाँ ऐनहरू, प्रशासनिक पुनर्संरचनाअनुरूप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु।’ सरकार निर्माण भएदेखि नै निर्वाचनका कार्यमा लागिराख्नुपर्ने र यससम्बन्धी आचारसंहिता पालना गरिरहनुपर्ने भएकाले विकास निर्माण कार्यलाई चाहेजति तीव्र गतिमा अघि बढाउन नसके पनि ठूला पूर्वाधारहरूको निर्माणमा सरकारले उल्लेख्य प्रगति गरेको देउवाले बताउनुभएको छ।

विभिन्न चुनौतीका बाबजुद पनि आफ्नो नेतृत्वको सरकारले विकास निर्माणका ठूला आयोजनालाई निरन्तरता दिएको भन्दै देउवाले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने, काठमाडौं–तराई–मधेस द्रुत मार्गको निर्माण कार्य नेपाली सेनाले तदारुकताका साथ अघि बढाउँदै गरेको र काठमाडौं उपत्यकामा हिमालको पानी ल्याउने किशुनजीको सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको बताउनुभएको थियो।

उहाँले आफ्नो नेतृत्वको सरकारले विशेष महत्त्वका साथ अनुगमन गरेको अरुण तेस्रो र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी मार्ग र पोखरा क्षेत्रीय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनामा राम्रो प्रगति भएको पनि बताउनुभएको छ।
केही दिनअघि मात्र आफूले दार्चुलामा ३० मेगावाटको चमेलिया विद्युत् आयोजना र जुम्लामा ३ सय शय्याको आधुनिक अस्पतालको उद्घाटन गरेको भन्दै प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा देउवाले भन्नुभयो– ‘अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज आयोजनाअन्तर्गत इतिहासमै सबभन्दा ठूलो अनुदान सम्झौतामा मेरो नेतृत्वको सरकारले हस्ताक्षर गरेको छ। तदनुरूप ५० अर्ब रुपियाँको लागतमा ३ सय किलोमिटर जति उच्च भोल्टेजको प्रसारण लाइन बन्ने र सडक सुधार गर्ने कार्य हुनेछ।’ गरिबी निवारणका लागि गरिबी निवारण कोषलाई प्रभावकारी बनाइएको छ। समृद्ध नेपालको हाम्रो यात्रामा यो महत्त्वपूर्ण आधार हुने देउवाको भनाइ थियो।

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय स्वार्थ र जनताको सर्वोत्तम हितलाई केन्द्रविन्दुमा राखी परराष्ट्रनीति सञ्चालन गरेको भन्दै देउवाले छिमेकी मुलुक भारत, चीन र अन्य मित्रराष्ट्रहरूसँग पञ्चशीलको सिद्धान्तमा आधारित रही सम्बन्ध सुदृढ गर्ने र सहयोगको क्षेत्र विस्तार गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउनुभएको थियो।

‘हाम्रा दुई विशाल छिमेकीहरू भारत र चीनसँगको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई मेरो कार्यकालमा थप विश्वसनीय र सम्मानमा आधारित बनाइएको छ’, देउवाले भन्नुभयो– ‘गत भाद्रमा मैले गरेको मित्रराष्ट्र भारतको राजकीय भ्रमणले हाम्रो सम्बन्धमा आपसी समझदारी र विश्वासलाई अझ प्रगाढ बनाएको छ। साथै, छिमेकी भारत र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरूबाट आपसी सहयोगका क्षेत्र थप विस्तार भएका छन्।’

आफ्नो कार्यकालमा संयुक्त राष्ट्र संघमा नेपालको प्रभाव र भूमिका विस्तारित भएको भन्दै देउवाले मानव अधिकार परिषद्को सदस्यमा अधिकतम मतसहित नेपाल निर्वाचित भएको बताउनुभएको छ।
अति कम विकसित मुलुकहरूको दर्जाबाट स्तरोन्नति हुने राष्ट्रसंघीय प्रक्रियामा गम्भीर तयारीका साथ नेपाल सहभागी भएको छ भन्दै उहाँले सन् २०३० भित्र दिगो विकासका लक्ष प्राप्तिका लागि रणनीतिक रोडम्याप तयार गरिएको पनि बताउनुभएको छ।
देउवाले राजीनामा दिने क्रममा आफ्नो नेतृत्वको सरकारले गरेको उपलब्धिबारे बोल्दै भन्नुभयो– ‘लामो संक्रमण, भूकम्प र नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्र तंग्रिन थालेको छ। आर्थिक वृद्धिदरले स्थिर गति लिएको छ।

मुद्रास्फिति वाञ्छित सीमाभित्र छ। राजस्व संकलन लक्ष्यमुताविक नै छ। स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक रूपमा वृद्धि भएको छ। पर्यटकहरूको आगमन वार्षिक १० लाख छुने क्रममा छ। विप्रेषणमा निर्भरता र बढ्दो व्यापार असन्तुलनलाई कम गर्न उत्पादन र रोजगारी वृद्धि गरी आर्थिक सुधारहरूको प्याकेजमा गृहकार्यको थालनी भएको छ।’
प्रधानमन्त्री पदबाट राजीनामा दिँदै कांग्रेस सभापति देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा आफ्नो पार्टी र आफू सदा सर्वदा क्रियाशील रहने र नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा निष्ठापूर्वक प्रतिबद्धता रहने बताउनुभएको थियो। देउवाले अब बन्ने नयाँ सरकारलाई दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न सफलता मिलोस्, भनी शुभकामना पनि दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्