प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारी



पोखरा,  प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान रहनुभएको थियो भने समर्थकमा किरण गुरुङ रहनुभएको थियो ।

सभामुख पदमा निर्वाचित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

संविधान एवं संघीयताको कार्यान्वयन प्रमुख प्राथमिकतामा 

नवनिर्वाचित प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संविधान एवं संघीयताको कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रदेशसभा बैठकबाट निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीसँग उहाँले आवश्यक कानून निर्माणसहित समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

सभामुखको जिम्मेवारीसँगै आफूले पक्ष वा प्रतिपक्ष कसैको नभई सबैलाई सन्तुलन मिलाएर साझा भूमिका निर्वाह गर्दै जाने बताउनुभयो ।

सभामुख पदमा रहँदासम्म साझा भएर प्रस्तुत हुने बताउँदै आजैबाट पार्टीको कुनै पनि औपचारिक जिम्मेवारीमा नरहेको उल्लेख गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्