फागुनको पहिलो कारोबार सकारात्मक



काठमाडौं, (नेस)
बुधबार नेप्से परिसूचक ८ दशमलव ६५ अंकले बढेको छ। अधिकांश समय रातो रङले पोतिएको अन्तिम २० मिनेट तीव्र रूपमा बढ्दा परिसूचक सकारात्मक बनेको हो।

बुधबार १ हजार ३ सय ८० दशमलव २९ अंकबाट शुरू भएको नेप्से १ हजार ३ सय ८८ दशमलव ९४ अंकमा कायम भएको हो। नेप्से बढ्दा बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५१ अंकको बढेर २ सय ९३ दशमलव ५८ अंकमा उक्लिएको छ।

परिसूचक बढ्दा यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार भएको दिन सोमबार बजारमा २४ लाख रुपियाँ कारोबार भएकोमा बुधबार ३८ करोड ६४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको थियो। यसक्रममा बुधबार १ सय ५५ कम्पनीका ९ लाख ३१ हजार कित्ता शेयर खरिद बिक्री भए। यस दिन कारबोरमा आएका १० मध्ये ७ समूहमा सुधार आउँदा नेप्से उकालो लागेको हो। यस दिन बढ्नेमा बीमा समूह सर्वाधिक १ सय २१ दशमलव ५२ अंकले उकालो लाग्यो।

त्यसैगरी लघुवित्त समूह २० दशमलव ५५ अंकले उकालो लाग्दा जलविद्युत् समूह पनि १८ दशमलव २ अंकले सुधारियो। त्यस्तै बैंकिङ, ट्रेडिङ, होटल, र विकास बैंक समूह पनि सुधारिए। घट्नेमा वित्त समूह २ दशमलव ७९, उत्पादनमूलक समूह ३ दशमलव ५६ र अन्य समूह १ दशमलव ५४ अंकले ओरालो लागे।
बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ५ करोड ५० लाख रुपियाँमा खरिद बिक्री भए। यसदिन प्रभु बैंकको पनि ५ करोड रुपियाँभन्दा माथिको कारोबार हुँदा आरएसडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन्। यस दिन कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सम्पत्ति ५ दशमलव २ अंकले घट्यो।

प्रतिक्रिया दिनुहोस्