थ्रिस्टार उपाधि नजिक



गोकुल घोरसाइने, बारा

मोरङ फुटबल क्लब बिराटनगरमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। थ्रिस्टारको जितमा सुनिल बलले दुई तथा विष्णु गुरुङ र अनन्त तामाङले समान एक–एक गोल गरेका थिए। मोरङका कर्ण लिम्बूले खेलको अन्तिम समयमा दुई गोल गरे पनि टिमको हार टार्न सकेनन्।

खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोस्रो हाफमा दुई गोल थप्यो। खेलको ८० औं मिनट सम्म मोरङलाई ४–० गोल अन्तरले दबाबमा राखेको थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगत्तै मोरङले ८१ र ८४औं मिनेटमा लगातार २ गोल फर्कायो। खेलको उतराद्र्धमा ४–० को नतिजा पाएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिश्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए।

सिजनका दुई ठूला प्रतियोगिता जितेको थ्रिस्टारलाई पहिलोपटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३औं मिनेटमा विष्णु गुरुङले गोल गरेका थिए। सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए। खेलको ३५औं मिनटमा सुनिल बलले थ्रिस्टारको अग्रता दाब्बर पारे। डी वक्स बाहिरबाटै सुनिल प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमा मोरङ विरुद्ध हावि भएको थ्रिस्टारका सुनिल बलले दोस्रो हाफको शुरूआतमै अग्रता फराकिलो बनाए। खेलको ४९औं मिनटमा डी वक्सभित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनिलले थ्रिस्टारलाई ३–० को अग्रता दिलाए। खेलको ७७औं मिनटमा थ्रिस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो। निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्रिस्टारको जित सुनिश्चित गरे।

४ गोलको अग्रतापछि गोलरक्षक परिवर्तन गरेको थ्रिस्टार खेलको ८०औं मिनेटपछि दबाबमा पर्यो। गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रिस्टारको अग्रता ४–१ मा झर्यो। मोरङका कर्ण लिम्बूले खेलको ८१औं मिनटमा पहिलो गोल गरे। डी बक्सभित्र पाएको बललाई सिधै पोस्टको दिशा दिएका लिम्बूको प्रहार थ्रिस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन्। त्यसलगत्तै आक्रामक रूपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रिस्टारको अग्रता ४–२ मा झार्यो। कर्ण लिम्बूले खेलको ८४औं मिनटमा दोस्रो गोल गरे।

प्रतिक्रिया दिनुहोस्