संसद्मा कुरा उठाऊँ है !



बुधबार फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’। कलेज, क्याफे, रेस्टुरेन्ट, सिनेमा घर, सार्वजनिक स्थललगायत धेरै ठाउँमा यही दिवसको चर्चा परिचर्चा सुनियो, देखियो। कलेजहरूमा त एक हप्ता अघिदेखि नै यो दिवसले छपक्कै छोप्या थियो। त्यही भएर होला बुधबार अधिकांश कलेजमा विद्यार्थी संख्या निकै पातलो देखियो, कक्षा ११⁄१२ का पनि धेरै अनुपस्थित देखिए।

यस्तै माहोल देख्दा धरहरालाई पनि निकै चासो लाग्यो। अनि नियाल्यो काठमाडौं र उपत्यका आसपाससका डाँडाकाँडा। धेरै ठाउँमा बाइक र स्कुटरको चहल–पहल देखियो अनि सवारीभन्दा धेरै देखिए जोडा–जोडी। अधिकांशचाहिँ अल्लारे उमेरका। भर्खर जुँगाका रेखी बसेका ठिटा, अनि भर्खर जवानी चढ्न थालेका ठिटी। त्यस्तो दृश्य देख्दा धरहरालाई लाग्यो गर्ल फ्रेन्ड र ब्याइफ्रेन्डविनाको दुनियाँ नै छैन। अरूलाई देखाउन कै लागि भए पनि जोडाजोडी बनाएजस्तो पनि देखियो।

सच्चा प्रेमीप्रेमिका मात्रै होइन, भाडाका झैं देखिने प्रेमीप्रेमिकालाई ठूलो समस्या रहेछ भन्ने कुरा प्रस्ट भयो। शहर आसपासमा पर्याप्त डेटिङ स्पट नभएर होला जंगल र भीर पाखामा माया प्रेम गाँस्दा विचरा⁄ मायालु जोडीलाई निकै सास्ती हुँदो रहेछ। तपार्इंका छोराछोरीले पनि यस्तो सास्ती भोग्या हुन सक्छन्, त्यसैले यसबारेमा आगामी संसद्मा कडा रूपमा कुरा उठाउनुपर्छ है सांसदज्यूहरू

प्रतिक्रिया दिनुहोस्