ट्रम्पका वकिलले पोर्नस्टारलाई पैसा दिएको स्वीकार



न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयदेखिका निजी वकिलले न्युयोर्क टाइम्सलाई बयान दिनेक्रममा सन् २०१६ मा आफूले एक वयस्क चलचित्रकी अभिनेत्रीलाई १ लाख ३० लाख अमेरिकी डलर दिएको खुलासा गरेका छन्।

यसअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पसँगको अनैतिक प्रेम प्रसंगको पोल खोल्न नदिन स्टोर्मी ड्यानियल्स नामक ती अभिनेत्रीलाई पैसा दिइएको जनाएको थियो। सन् २०११ मा अन्तर्वार्ता दिने क्रममा ड्यानियल्सले आफ्नो ट्रम्पसँग प्रेम प्रसंग रहेको बताएकी थिइन्। वकिल माइकल डि. कोहेनले ट्रम्पले उनीसँग सम्बन्ध रहेको भन्ने आरोपको कडा शब्दमा आलोचना गरेको बताएका थिए। वास्तविक नाम स्टेफानी ग्रेगोरी क्लिफोर्ड भएकी ती अभिनेत्रीले २०११ मा इन टच म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा सन् २००६ मा ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले छोरा ब्यार्रोनलाई जन्म दिएको केही समयपछि आफ्नो ट्रम्पसँग यौन सम्बन्ध रहेको बताएकी थिइन्।

तर कोहेनले सो पैसा उनलाई किन भुक्तानी गरिएको र त्यसबारे ट्रम्पलाई जानकारी छ वा छैन भन्ने प्रश्नको जवाफ न्युयोर्क टाइम्सलाई दिएका छैनन्। ट्रम्पको राष्ट्रपतीय चुनाव प्रचार अभियानका बेला ड्यानियल्सले यौन प्रकरण भण्डाफोर गर्लिन् भन्ने डरले उनलाई पैसा दिएर थामथुम गरिएको केही समयअघि अमेरिकी सञ्चारमाध्यमले जनाएको थियो।

उनलाई सबै कुरा गोप्य राख्न त्यसरी पैसा दिइएको गत जनवरीमा वाल स्ट्रिट जर्नलले जनाएको थियो। तर ड्यानियल्सले सोही महिना आफ्नो ट्रम्पसँग कुनै अनैतिक सम्बन्ध नरहेको भन्दै एउटा औपचारिक विज्ञप्ति जारी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्