यात्रुवाहक विमान दुर्घटना हुनबाट जोगियो



न्युयोर्क, (एजेन्सी)
अमेरिकामा युनाइटेड एयरलाइन्सको एक उडान दुर्घटनाको संघारमा पुगेर बच्न सफल भएको छ।
उक्त विमानले सान फ्रान्सिस्कोबाट होनोलुलु उडान भरिरहेको थियो। करिब एक घण्टाको उडानपछि फ्लाइटको इन्जिन कभर हावामा उछिट्टिएर गएको थियो। पाइलटले आफ्नो उच्च अनुभव देखाउँदै विमान होनोलुलुमै सकुसल अवतरण गरेका थिए। यस क्रममा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ। तर यात्रुहरु भने डराएका थिए।

युनाइटेड एयरलाइन्सको उडान ११७५ सान फ्रान्सिस्कोबाट होनोलुलुका लागि उडान भरिरहँदा अवतरण हुनु १ घण्टाअगाडि प्रशान्त महासागरमाथि विमानको दायाँतर्फको इन्जिन कवर अकस्मात् हावामा उछिट्टिएर गएको थियो। यस क्रममा कभर विमानसँग नठोक्किनु नै विमानका लागि सबैभन्दा राम्रो भएको बताइएको छ।

विमानमा ३ सय ७३ यात्रु थिए। पाइलटले घटनाको जानकारी होनोलुलु विमानस्थललाई दिए र विमानलाई आपत्कालीन अवतरण गराए। विमानस्थलमा अग्निसमन र एम्बुलेन्स धावनमार्गमा तयार राखिएको थियो।

युनाइटेड एयरलाइन्सका प्रवक्ता चाल्र्स होबार्टले पाइलटको सुझबुझले विमानलाई डेनियल के. इनोय इन्टरनेसनल विमानस्थलमा अवतरण गराएको बताए। यात्रुहरुलाई सामान्य तरिकाबाटै विमानबाट ओरालेको र गेटसम्म लगिएको उनले जानकारी दिए।

एक यात्रुले बिना इन्जिन कभर प्रशान्तमाथि उडिरहेको भिडियो पनि पोस्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्