दोलखाको कालिञ्चोकमा हिमपात



दोलखा, (नेस)
दोलखाको धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोकमा बुधबार दिउँसोबाट हिमपात शुरु भएको छ। केही दिनदेखि मौसममा आएको परिर्वतनसँगै बुधबार दिउँसोबाट कालिञ्चोकमा हिमपात शुरु भएको हो। बुधबार दिउँसो ४ बजेबाट हिमपात शुरु भएको कालिञ्चोक कुरीका होटल व्यवसायी सोनाम शेर्पाले बताए। मौसममा बदलाव आएपछि सोमबार पनि कालिञ्चोक र शैलुङमा हिमपात भएको थियो।

सोमबार हिमपात भएपछि कालिञ्चोकमा उल्लेख्य पर्यटक आएको होटल व्यवसायी शेर्पाले बताए। ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्त्वपूर्ण मानिन्छ। कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो।

किम्बदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ। कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहँदै आएको छ।

कालिञ्चोक क्षेत्रमा भेडागोठहरू रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरू जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्बदन्तीसमेत प्रचलनमा रहेको छ। कालिञ्चोकको दर्शन गर्यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वास रहदै आएको छ।

प्रतिक्रिया दिनुहोस्