शंकर पोखरेल भन्छन्ः प्रदेश पाँचलाई सूचना प्रविधियुक्त प्रदेशका रुपमा विकास गर्नुपर्छ



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर पांच नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले सूचना प्रविधिलाई समाज र मानवसंग जोडेर अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।

उहाँले सूचना प्रविधिलाई सुशासन पद्वतिका रुपमा विकास गरी पांच नम्बर प्रदेशलाई सूचना प्रविधियुक्त प्रदेशका रुपमा विकास गरिने बताउनु भयो ।

बुटवलमा बुधबारदेखि सुरु भएको सातौ क्यान इन्फोटेक २०१८ को उद्घाटन गर्दै संसदीय दलका नेता पोखरेलले विदेशी सफ्टवेयरको वजारीकरण मात्र नगरी मूलुक र समाज सुहाउंदो सफ्टवेयरको विकास गर्न व्यवसायीलाई आग्रह गर्नु भयो ।
उहाँले कम्प्युटर शिक्षालाई विद्यालय स्तरको पाठ्यक्रम भित्र मिसनका रुपमा व्यवस्था गर्नुपर्ने बताउंदै सूचना प्रविधिलाई साक्षरताको मापनका रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

मुलुकका विकसित राष्ट्रहरुले सूचना प्रविधिको माध्यमबाट आर्थिक सम्वृद्वि हासिल गरेको उल्लेख गर्दै नेपालका ग्रामिण क्षेत्रका जनतालाई सूचना प्रविधिको पहुंचमा पुराउनु पर्ने धारणा राख्नु भयो ।

उहाँले आफु सञ्चारमन्त्री हुंदा नेपालमा सूचना प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुराएको दावी गर्दै पांच नम्बर प्रदेशको समउन्नत विकाका लागि सूचना प्रविधि मैत्री प्रदेशका रुपमा विकास गरिने बताउनु भयो ।

सोही कार्यक्रममा क्यान महासंघका संस्थापक अध्यक्ष विक्रमकुमार शर्मा, वर्तमान क्यान महासंघका अध्यक्ष हेमन्त चौरसिया, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाली कांगे्रस महासमिति सदस्य युवराज गिरी, माओवादी केन्द्रका रामप्रसाद वञ्जाडे, पत्रकार महासंघका उपाध्यक्ष निरु गौतम, क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठ, उपाध्यक्ष रामुदेव गौतम, सचिव विरबहादुर क्षेत्री, कमला कुंवर लगायतल बोल्दै विश्व वजारमा विकसित भएका सूचना प्रविधि सम्बन्धी सुरक्षा चुनौतीका बारेमा मेलामा जानकारी गराउने मुख्य उद्वेश्य रहेको बताएका थिए । मेलामा १ सय ४० स्टल प्रदर्शनीमा रहेकोे आयोजकले जनाएका छन् ।

ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन ,आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहेको क्यान महासंघका उपाध्यक्ष नवराज कुवंरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्