अल्लो प्रशोधनमा नयाँ प्रबिधीको बिकास



दुर्गाप्रसाद शर्मा, पर्वत ।
वनजंगलमा पाइने चाल्ने सिस्नो(अल्लो)बाट धागो बनाउँन नयाँ प्रबिधीको बिकास गरिएको छ ।

पोखरा बिश्वबिद्यालय र कोरियाको हाङदोङ बिश्वबिद्यालयका अन्वेशकहरुले परम्परागत रुपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागत समेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीहरुका लागि नयाँ प्रबृधिको बिकास गरेका हुन । अल्लो प्रशोधन गर्न बिकास गरिएको नयाँ प्रबिधीको पर्वतको मोदीगाउँपालिका वडा नं ३ घुरुङ्गामा सफल परिक्षण समेत गरिएको छ ।
परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र ब्यबसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रबिधीको बिकास गरिएको र यसले ग्रामिण क्षेत्रका लघुउद्यमीहरुलाई फाइदा पुग्ने प्रमुख अन्वेषक एबम पोखरा बिश्वबिद्यालयका उपप्राध्यापक डा. अजय थापाले बताए । ‘नयाँ प्रबृधि बिकास गर्नाले अल्लोको भुवाँ प्रशोधनमा ठुलो उपलब्धी हासिल भएको छ’ डा. थापाले भने ‘नयाँ प्रबिधीले छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादनमा महत्वपुर्ण सहयोग पुग्छ’ ।

नयाँ प्रबिधीमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रबिधी अपनाइएको छ । परम्परागत रुपमा प्रशोधन गर्दा धेरै ज्यामी र शारिरीक श्रम लाग्ने तथा समय समेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले १ जनाबाटै संभब भएको स्थानिय उद्यमी रनमाया पुनले बताइन । ‘नयाँ प्रबृधि हाम्रा लागि इश्वरको बरदान नै भएको छ’ उनले भनिन । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्दा धेरै श्रम र समय लाग्दै आएको उनले बताइन ।
नयाँ प्रबिधीको बिकास गर्नका लागि कोरियाको बिज्ञान प्रबिधी मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङ्गदङ्ग बिश्वबिद्यालय, नेपाल इनोभेसन एण्ड इन्टरप्रेनरसिप सेन्टर, पोखरा बिश्वबिद्यालय लगायतले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए ।

यसैबिच अल्लो प्रशोधनको नयाँ प्रबिधी र भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योगको उद्घाटन गरिएको छ । घुरुङ्गमा स्थापित उद्योगको मोदीगाउँपालिकाकी अध्यक्ष सेती महत र हङ्गदङ्ग बिश्वबिद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन गर्दै उपाध्यक्ष महतले लघुउद्यमीहरुलाई नयाँ प्रबिधी, सिप र पुंजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताइन । उनले अल्लो प्रशोधनलाई ब्यबसायिक बनाउन गाउँपालिकाले २० बर्षे उद्योग रणनिती बनाएर अघि बढेको जानकारी दिइन ।

प्रोफेसर हानले नेपालमा लघु उद्यममा नयाँ प्रबिधी बिकास गर्न सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले यसलाई अन्य बस्ती र समुदायमा बिस्तार गर्न सके रोजगारी बढाउन सकिने बताउँदै त्यसका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालले अल्लोको ब्यबसायिक खेती र जंगलमा भएको अल्लोको संरक्षण र उपयोग बढाउन जरुरी रहेको कुरामा जोड दिए । कार्यक्रममा स्थानिय उद्यमी, समाजसेवी, बिभिन्न संस्थाका प्रमुखहरुले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्