मुख्यमन्त्रीद्वारा नारायणगढ मुग्लिन सडकखण्ड निरीक्षण



हेटौंडा, (नेस)
सपथ ग्रहण गरेको भोलिपल्ट नै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काम शुरू गर्नुभएको छ। कुराभन्दा काममा विश्वास गर्ने बताउनुभएका पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षण गर्नुभएको हो।

उहाँले प्रदेशलाई नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लामो समयदेखि निर्माण शुरू गरिए पनि काम नसकिएपछि सडकको निरीक्षण गरेर छिटो काम सक्नका आयोजना प्रमुख तथा प्राविधिकलाई उहाँले निर्देशन दिनुभएको छ।

लाखौं नागरिक हिँड्ने र सामान ढुवानी गर्ने सडकको काम छिटो सक्न भन्दै उहाँले निर्देशन दिनुभयो। सडक निर्माणको काम वैशाखमा नै सक्नुपर्ने थियो। तर, हालसम्म पनि नसकिएकाले जनताको समस्या बुझेर काम गर्न आयोजनाका निमित्त प्रमुख गोविन्द खनाललाई पौडेलले निर्देशन दिनुभयो। हालसम्म आयोजनाको काम ७५ प्रतिशतमात्र सकिएको छ।

हरेक दिन उक्त सडक खण्डमा यात्रुहरू जाममा बस्नुपर्ने, दिउँसो आयोजनाको काम बन्द हुनेलगायत समस्या छन्। त्यसअघि मुख्यमन्त्री पौडेलले दासढुंगामा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्