भित्रियो सेतो हात्ती



नेपाल वायुसेवा निगमले चीनबाट फेरि २ थान जहाज भित्त्याएको छ। दुईवटा चिनियँँ ‘वाई १२ ई’ जहाज मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका छन्। एक साताअघि चीनको हर्बिन शहरबाट उडेका यी जहाज सोमबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्।

निजी क्षेत्रका हवाई कम्पनीले आन्तरिक सेवामा प्रभुत्व जमाइराखेका बेला निगमले चिनियाँ जहाज भित्त्याएको हो। विभिन्न मितिमा ६ वटा चिनियाँ जहाज नेपाल भित्रिएका छन्। ६ मध्ये २ जहाज अनुदान र ४ वटा सहुलियत ब्याजदरमा ल्याइएको हो। दुई नयाँ जहाज थपिएसँगै निगमको आन्तरिक उडानमा ८ वटा जहाज भएका छन्।

उडान पूर्वाधार योग्य रहेका आन्तरिक विमानस्थलमा यी विमान उडानमा प्रयोग हुने निगमले जनाएको छ। यसअघि भित्रिएका विमानले कहाँ कहाँ कुन–कुन विमानस्थलमा चुस्त दुरुस्त सेवा दिएका छन् भन्ने उदाहरण दिन सक्या भए पो निगमको कुरा पत्याउनु। चिनियाँ जहाजको सानो पुर्जा बिग्रियो भने त हप्तौ दिन थन्काएर राख्या नदेख्या हो र ?

जहाज उडाउन योग्य पाइलट पनि अपुग भएको पटक–पटक सुनिएकै हो। के गर्नु ऊबेलाको सरकारले सम्झौता गरी नै हाल्यो, जहाज नल्याएर पनि भएन, आखिर सम्बन्धको कुरा पनि जोडिया छ। हैन त निगम पदाधिकारी ज्यू ? यी जहाज अब कति महिनासम्म सेतो हात्ती बन्ने हुन् भन्ने धरहराको चासो छ।

प्रतिक्रिया दिनुहोस्