सिडियो गायक



रश्मी थापा

सेवाका हिसाबले सिडियो, सौखले गायक। विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सेवा गरिरहेका विजयनारायण मानन्धरको दोहोरो परिचय हो। जिल्लाको प्रशासन व्यव्स्था सम्हालिरहेका विजयनारायणले मञ्चमा उभिएर जोशिला गीत गाउँदा मानिस अचम्म मान्दै भन्ने गर्छन्– ‘सिडियोले पनि गीत गाउँछ र भन्या?’

सानैदेखि गायनमा रुचि राख्ने भए पनि क्याम्पस लेभलको पढाइ थालेदेखि गीत गाउन थालेका थिए विजयनारायणले। २०२० सालमा काठमाडौंको चावहिलमा पिता स्व. लक्ष्मीनारायण मानन्धर तथा आमा चैत्रमाया मानन्धरको जेठो सुपुत्रका रूपमा जन्मिएका उनले २०४६ सालमा भावनामा तिमी आइदेउ बोलको गीत रेकर्ड गरेर आफ्नो गायन यात्रालाई औपचाीकरूपमा अघि बढाएका थिए। तर, २८ वर्षे गायन यात्रामा लगभग ३ दर्जन मात्र गीत गाएका छन् उनले। ‘मैले आफ्नो पढाइ र जागिरलाई अघि बढाएर मात्र गायन यात्रा शुरु गरेको हुनाले गायनलाई धेरै समय दिन पाइनँ। गायन मेरो सोखका विषय भएकाले यसलाई व्यवसायिकरूपमा कहिल्यै पनि लिइन। वास्तवमा म चुजी गायक भएकाले पनि मेरा गीत कम छन्। गायनमा मात्र लाग्दा पढाइ र जागिरमा प्रगति गर्न सकिँदैन भनेर पनि छनोटका गीत मात्र गाउँदै आएको छु –सेना दिवसका अवसरमा हालै राजधानीमा भएको रन फर फन कार्यक्रमका लागि प्रधान सेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा प्रत्यक्ष्ँरूपमा राष्ट्रिय गीत प्रस्तुत गर्न केही दिनका लागि काठमाडौं आएको विजयले सुनाए।

२०३९ सालमा खरिदारबाट सेवा शुरु गरेका उनले २०४२ सालमा राष्ट्रिय वाणिज्य बैंकमा अधिकृतको रूपमा केही महिना सेवा गरे। त्यसपश्चात् नेपाल सरकारको शाखा अधिकृत हुँदै उपसचिवमा बढुवा भएका उनी ४ वर्षअघिदेखि सहसचिव भई विभिन्न जिल्लाको प्रशासन सम्हालिरहेका छन्। ३५ वर्षे जागिको दौरानमा उनी हुम्ला, धनकुटा, कालिकोट, सिरहा हँुदै १४ महिनादेखि बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका छन्। जिल्लाको प्रशासन सम्हाल्दै गीत गायनलाई पनि अगाडि बढाइरहेका छन्।

गायन यात्राका क्रममा उनले सुगम गीतदेखि, भजन, राष्ट्रिय भावनाले ओतप्रोत गीत, जागरण गीतसम्म गाएर संगीतप्रेमीलाई मोहित तुल्याउँदै आएका उनले पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, कृतिनिधि विष्ट, गणेशमान सिंह, तत्कालीन राजारानी स्व. वीरेन्द्र शाह तथा ऐश्वर्य शाहसमेतलाई आफ्नो गायकी कला र भिन्न प्रकारको स्वर शैलीबाट मोहित तुल्याएका थिए।

नेपालको पहिलो लागूओषध प्रयोगविरोधी गायकका रूपमा समेत चिनिएका उनले लागूऔषध प्रयोगविरुद्ध २०४८ सालमा आमाको छाती चरचर चिर्ने नगर अधर्म बोलको गीत गाएका थिए। उनले यो गीतबाट बीपी मेमोरियल अवेरनेस सङ कम्पिटिसनमा बेस्ट पर्फमेन्स अवार्ड पनि पाएका थिए। स्व. तारादेवीदेखि मीरा राणासम्मका गायिकाहरुसँग युगल गीत गाएका उनले पछिल्लो समय गायिका तेजलक्ष्मी धुजुसँग गीत गाएका छन्। विशेष गरी सामाजिक जागरण तथा राष्ट्रिय भावनाका गीत गाउन रुचाउने उनले केही मायाप्रेमसम्बन्धी गीत पनि गाएका छन्। उत्प्रेरणा, निजामती सेवा र मुटुसम्बन्धी गीतसमेत गाएका उनका न छ सानो कोही यहाँ, न छ ठूलो कोही यहाँ सबैभन्दा ठूलो गर्व म नेपाली हुँ भन्नुमा, थोरै सक्छौ थोरै गरौं, धेरै सक्छौं धेरै गरौं जस्ता राष्ट्रिय गीत चर्चित छन्। ‘केही समयअघि भारतको स्वतन्त्रता दिवसको अवसरमा वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासको कार्यक्रममा न छ सानो कोही यहाँ गाउँदा धेरै दर्शकले मन पराए। धेरैले यसको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दाखेरी भाइरल भएको थियो। यसपछि मैले उक्त गीतको भिडियो पनि निर्माण गरेको छु, विजयले भने– ‘यो गीतबाट व्यक्त गरेको कुरालाई प्रभावकारी हुने भएकाले मैले सामाजिक र जागरणका गीत धेरै गाएको हुँ।’ उनका गीत कति प्रभावकारी छन् भने उनले गाएको मुटुको सुरक्षासम्बन्धी गीतको भिडियो हेरेर धेरै जनाले आफ्नो जीवनशैली नै परिवर्तन गरे। धुमपान र मद्यापनले मुटमा पार्ने असरबारे जनाउ दिन गीतको भिडियोमा पशुपति आर्यघाटमा लास जलाइरहेको दुश्य प्रयोग गरिएकाले कतिपयले उनलाई तपाईंको गीत हेरेर हामीले त्यस्तो खान पिउनै छोड्यौंसमेत भनेछन्।

गीत गायन र प्रशासनको जिम्मेवारी सम्हाल्ने क्रममा विजयले रमाइला र अविस्मरणीय क्षणहरु पनि सँगालेका छन्। ‘विभिन्न जिल्लामा हुने कार्यक्रममा मैले गीत गाउँदा धेरै मानिसले ओहो⁄ सिडियोले पनि गीत गाउने कस्तो अचम्म भनेर हेर्न आउँथे’, उनी सम्झन्छन्– ‘कामको सिलसिलामा कालिकोट तथा डोल्पाका विभिन्न ठाउँमा नागरिकता बाड्न जाँदा त्यहाँका वृद्ध महिलाहरू सिडियो आएको छ रे, सिडियो भनेको कस्तो रहेछ भनेर हेर्न आउँथे। वृद्ध उमेरसम्म उनीहरुलाई सिडियो भनेको के हो भन्ने नै थाहा रहेनछ। वास्तवमा ती ठाउँहरुमा धेरै वर्षदेखि सिडियो नै गएका रहेनछन्। हिँडेर जाँदा ३⁄४ दिन लाग्ने ठाउँमा नागरिकता बाँड्न आफैं जान्थें। त्यसो गर्दा विपन्न परिवारको नागरिकता लिनका लागि सदरमुकाममा आउन–जान लाग्ने खर्च बच्थ्यो।’

अमेरिका, ब्राजिल, सिंगापुर, मलेसिया, जापान, पाकिस्तान, चीनलगायतका देशको भ्रमण गरिसकेका उनको भावनामा तिमी आइदेउ नामक गीति एल्बम २०६० सालमा आएको थियो।
जागिर जीवनका कारण थोरै तर उपयोगी र सार्थक गीत गाउँदै आएका उनी अवकाशपछि गीत–संगीतमा धेरै सक्रिय रहने सोचमा छन्। ‘अब रिटायर्ड हुन केही महिना मात्र बाँकी छ, त्यसपछिका दिनमा अझै राम्रा गीत गाएर यही क्षेत्रलाई बढी समय दिने सोच राखेको छु।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्