धर्ती नचिनेका ‘भुइँफुट्टाहरु’



मुक्तिबन्धु
इतिहासले अभिलिखित गर्न भुलेका कति घटना–कथाहरु साहित्यमा उल्लिखित भेटिन्छन्। त्यस्तै एउटा घटना छ राजा भोजका काका मुन्जवीर नरेशको। पिता परलोक हुँदा राजकुमार भोज सानै थिए। युवराज भइसकेका थिएनन्। उनका काका मुन्जवीरले निमित्त नरेश भएर राजकाज चलाउनुपर्ने भइदियो। शासनको सिंहासनमा बसेपछि मुन्जवीरका मनमा क्रमशः लोभलालसाका फोहरा फुट्न थाले। पाएको सत्तासिंहासन सधैँका लागि कसरी हत्याउने ? मनमस्तिष्कमा षड्यन्त्रका लहरहरु पनि उठ्न थाले। त्यसै बीच एक दिन त्यो भतिजोमा भोजलाई सुटुक्क सिध्याइदिने र सत्ता अकण्टक बनाउने सोच उम्रियो र दिलदिमागमा  छिट्टै झा·ियो।
मध्यरातमा दुई जना जल्लादलाई झिकाए र भोलि बिहानै सिकार खेल्ने बहानामा राजकुमार भोजलाई ज·लमा लगेर मारिदिने अनि बाघले खाएको हल्ला मच्चाउने व्यवस्था मिलाउन हुकुम दिए मुन्जवीरले। बिहान जल्लादहरु सिकार खेल्ने आमन्त्रण लिएर भेट्न पुगेपछि राजकुमार भोजले छिट्टै लख काटे र भने– ‘हुन्छ जाऔँ, मलाई पनि सिकारमा जान मन लागेको छ। काका महाराजले मेरो मनको कुरा बुझ्नुभएछ। खुशी लाग्यो। जानुअघि एउटा जरुरी र गोप्य सूचना छ। त्यो सूचना महाराजकोमा नपुर्याई मैले यहाँबाट निस्कनै मिल्दैन। म छिट्टै त्यो सूचनाको टिपोट लेख्छु। तिमीहरु त्यो सूचना पुर्याएर छिट्टै फर्क। अनि सिकारमा जाऔँला।’

राजकुमारले गोप्य तरिकाले राजालाई एउटा पत्र लेखे। खाम बन्द गरे र जल्लादका हात त्यो पत्र राजाकोमा पठाए। छन्दोमय संस्कृत भाषामा तयार गरिएको त्यस पत्रमा लेखिएको थियो, ‘पुराणकालका विश्वविख्यात राजा मान्धाता, लङ्काविजयी महान् योद्धा राजा राम, महाभारतकालका चक्रवर्ती सम्राट् युधिष्ठिरलगायत ठूला–ठूला पराक्रमी र लोकप्रिय राजाहरु आ–आफ्ना समय सकिएपछि दिवंगत भए। मरेर गए। जाँदा तीमध्ये कसैसँग पनि पृथ्वी पछि लागेर गइनन्। मलाई विश्वास छ, मेरा आदरणीय काका महाराज स्वर्ग सवारी हुँदा समुद्रसहितकी यी पृथ्वी जुरुक्क उठेर हजुरको पछि लाग्नेछिन्। हजुरले एक्लै सवारी हुनुपर्नेछैन।’
मान्धाता पृथिवीपतिः कृतयुगालड्ढारभूतो गतः।
सेतुर्येन महोदधौ विरचितः क्वासौ दशास्यान्तकः ?।
अन्येचापि युधिष्ठिरप्रभृतयो याता दिवं भूपते।
नैकेनापि समं गता वसुमती मन्ये, त्वया यास्यति।।
इतिहासले भन्छ, ‘पत्र पढेपछि क्रूर, षड्यन्त्रकारी निमित्त नरेश मुन्जवीरका मनमा पनि आमूल परिवर्तन आयो। उनले तत्काल राजकाजबाट संन्यास लिए। भतिजाकोमा गए। क्षमायाचना गरे। आफैं ज·लतिर लागे।’
इतिहासका मुन्जवीरजस्तै हाम्रा प्रजातन्त्रका वीर योद्धा गिरिजाबाबु पनि त्यस्तै ठान्थे। उनी गए। नेपालको धर्ती उनीसँग गएन। ज·बहादुरले त अझ केही धर्ती जोडेका पनि थिए। यिनी जाँदा पनि नेपाल पछि लागेर गएन। आजको सत्तासिंहासनमा आसीन हुन पुगेका विभिन्न नाम–गोत्रका कथित बहादुरहरुले के ठानेर तुजुक देखाउँदै छन्, यो सुन्दर हास्यव्यङ्ग्यको विषय बनेको देखिएको छ।
यसै त यो एक्काइसौं शताब्दी। आज नेपालमै पनि धेरै–धेरै पढेका र देशदेसावर घुमेका विद्वान् राजनेताहरु छन्। त्यसमा पनि कति त लोकतन्त्रका साक्षात् पहरेदार पनि छन्। कति निक्खरा जनवादीछन्। सबै आ–आफ्ना खोलका सक्कली समाजवादीसमेत छन्। यस्ता–यस्ता महिमाशाली शीर्ष राजनीतिक व्यक्तित्वहरुमा पनि कुनै खास राजनीतिक व्यक्ति र दलविशेषको भन्दा देशको आयु बढी हुन्छ भन्ने सामान्य सोचसम्म रहे⁄भएको नपाइनु आज थप जिज्ञासाको विषय बनेको छ। उहाँहरु कतै अजम्मरी बुटी भेटेर ढुक्क हुनुभएको त होइन ? पटक–पटक मन्त्री, प्रधानमन्त्री बनेर देशदुनियाँ पचाएका हाम्रा शीर्ष राजनेताहरुलाई संसारको राजनीतिक इतिहास र समकालीन विश्वका परिघटनाहरुले र विशेषतः विगत तीन दशकमा विकसित नेपालको दुरवस्थाले समेत पनि विचार र व्यवहारमा किन्चित परिवर्तन आएको नदेखिनुले उहाँहरुका व्यक्तित्वको महिमा अरु चम्काएको छ। उमेरले चतुर्थाश्रम दगुर्न शुरु गरे पनि हंस बिसाएर आर्यघाट आवाद नगर्दासम्म सत्ता र सम्पत्तिको लागि लुटिलुटान राजनीतिको लिगलिगे दौड नछोड्ने हाम्रा शीर्ष राजनेताहरुको धैर्य कुनै हिमाल र पहाडसँग तुलना हुनसक्ने किसिमको सामान्य छैन। त्याग, संन्यास र नेतृत्व हस्तान्तरणजस्ता कमजोर शब्दहरु उहाँहरुको समृद्ध राजनीतिक शव्दकोशमा छैनन्। हाम्रा शीर्ष राजनेताहरु आफ्ना महिमाशाली क्रियाकलापद्वारा नमुना लोकतन्त्र र नमुना जनवादका युगान्तकारी संस्कार तथा संस्कृतिको जग बसाल्दै हुनुहुन्छ। यस्ता होनहार राजनेताहरु पाएर हामी नेपालीहरु साँच्चिकै भाग्यशाली बनेका छौं। यही गति कायम रहेको स्थितिमा आगामी दश वर्षभित्र हामीले प्रगतिमा विश्वका अति विकसित मुलुकहरुलाई कोसौं उछिन्न पनि असम्भव छैन।
भुक्तभोगी बूढापाकाहरु भन्छन्– क्रमशः ओरालो लाग्दै मुलुक संघीयताको अनकन्टारमा पसेको छ र दलदलमा फँसेको छ। नामुद–नामुद लोकतान्त्रिक र देशभक्त जनतान्त्रिकहरु खास समस्या र तिनका उचित समधानमा निस्पृह बन्दै देश र जनताका लागि असीम त्याग र तपस्याभावले भरिएको अभिनयका साथ मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री आदि पदमा आरुढ हुने महत्वाकाङ्क्षाको घोडदौडमा प्रतियोगी बनेका छन्।  यिनीहरुको व्यापक विजयदौडले मुलुक यत्रतत्र सर्वत्र धुलाम्मे बनिसकेको छ।
विगतमा कृषिप्रधान रहिआएको देश हाम्रो। यस क्षेत्रका जानकार पाका किसानहरु भन्छन्, ‘केन्द्रमा एउटा गोलो धमिराले भोगचलन गर्दा खोक्रो बनेको वृक्ष आधा दर्जनभन्दा बढी गोलोले अ·प्रत्य·मा धुरिएर नयाँ–नयाँ वुभुक्षाका साथ निरन्तर भोगचलन गर्दा अब कति दिन कसरी उभिन सक्ला ? अनुमानले पनि अत्यास लाग्छ।’ एक जना वयोवृद्ध शिक्षक नयाँ सडकको चिया पसलमा एकदिन भन्दै हुनुहुन्यो, ‘०३७⁄०३८को शिक्षक संघर्षमा शिक्षकहरुले पेन्सनको माग गर्दा नेपाली काङ्ग्रेसका सबैभन्दा अग्ला नेता बीपी बाबुले खुलामञ्चको एक आमसभामा भन्नुभएको थियो, ‘यस्ता मागहरु पूरा गरिए भने पछि आउने हाम्रो सरकारले व्ययभार धान्न सक्दैन।’ अहिले त्यसै काङ्ग्रेसका महारथी शेरबहादुरजीले भावी वृद्धहरुका लागि युवावस्थादेखि नै वृद्धभत्ता पस्कने र विगत तीस वर्षभित्र दिवंगत भएका जति सबैलाई सहीद घोषणा गरी रकम उपलब्ध गराउने लगायतका अजङ्ग–अजङ्गका निर्णय गरेर राष्ट्रिय अर्थतन्त्रको औचित्यपूर्ण व्यवस्थापन चिन्तनमा बीपी बाबुलाई कोसौं उछिनिदिनुभएको छ। लाग्छ, आरजुपति शेरबहादुरजीको कामचलाउ प्रधानमन्त्रीत्व कालमा नेपालको राष्ट्रिय ढुकुटीमा महाभारतकी द्रौपदीको वनवासमा प्राप्त पाकताउलीजस्तै कुनै रहस्यमय धनताउली प्राप्त भइसकेको छ। अब मुलुकमा कुनै उमेरसमूह पनि भत्तावञ्चित रहनेछैन।
कथावाचकहरु भन्छन्, ‘०५१ सालमा काठमाडौंमा राष्ट्रिय स्तरका एकजना साहित्यकार बिरामी पर्दा तत्कालीन सरकारले आर्थिक सहयोगको प्रस्ताव राखेको र ती साहित्यकारले ‘म सुकुम्बासी होइन। सानै भए पनि मसँग एउटा घर छ। यो बेच्न सक्छु। यसलाई देखाएर रुपियाँ रिनसापट लिन सक्छु। आफूसँग सम्पत्तिको विकल्प हुँदहुँदै सरकारबाट सहायता थाप्नु जायज होइन। मलाई चाहिँदैन’ भनेर सहायता अस्वीकार गरेको घटना सम्झँदा सपना लाग्छ। आज करोडौंको महल, गाडी र ब्याङ्क बयालेन्सका धनी राजनेताहरु सरकारी ढुकुटीबाट यात्रा खर्च र उपचार खर्चका नाममा आर्थिक सहायता थाप्छन्। सत्तासीनहरुको मिलेमतोमा आफन्तहरुबीच सरकारी ढुकुटीका रकमको जथाभावी बाँडचुँड र खाइपचाइ अभियान यो गणतन्त्र नेपालको स्थापित सत्ता संस्कृति नै बनेको देखिएको छ। मुलुकमा आज रोग लाग्दा सिटामोल नपाएर मर्ने जनसङ्ख्या ठूलो छ। जनता हिजो पनि दुनियाँ थिए, आज पनि दुनियाँ नै छन्। राजनीतिमा नामिक परिवर्तनहरु भएका छन्। यथास्थितिको चपरी पल्टिएको छैन। प्रजातन्त्र, लोकतन्त्र, समाजवाद जे–जे भनिए पनि सत्ता हिजो सामन्तहरुका हातमा थियो, आज नवसामन्तहरुको हातमा छ। भुइँफट्टा साहूहरुको हातमा छ। आधारभूत जनता आज पनि रित्तै छ।
विगतमा हाम्रा हजुरबाहरु सिलोक भट्याउँदै भन्नुहुन्थ्यो, ‘काम् गर्न लाग्दा ती नरैसरीका। लीला अपार् छन् भगवान् हरीका।’ आजका हाम्रा राजनेताहरुका लीला साँच्चै अपार छन्। ती लीलालाई हज्जार जिब्रा भएका शेषनागले पनि बयान गर्न सक्दैनन्।
लोकहित, सदाचार, नैतिकताजस्ता शव्दहरु अब पुराना र अर्थहीन भएका छन्। अनाचार, अत्याचार, भ्रष्टाचार, कमिसन, तस्करी, अपहरण, असुली, डनगिरी, घूस, नजराना, लुट, बाँडफाँडजस्ता शब्द आजका जीवन्त र उपयोगी शब्दहरु बनेका छन्। यी यस्ता शव्द–सार्थक व्यवहारले आभूषित व्यक्तित्व नै आज सत्ताका कुनै पनि पद, प्रतिष्ठाका लागि विशेष योग्य र ग्राह्य बन्न पुगेको अवस्था छ।
कोइलाखानीमा काम गरी आएका एकजना वयोवृद्ध श्रमिक भन्छन्– घना अन्धकार कायम रहँदासम्म आँगनमा भूतप्रेतहरु नाच्न, गाउन र हाँस्न सक्छन्। जनचेतनाको झलमल बत्ती बलेपछि विद्रोहको विगुल बज्न पनि सक्छ। त्यति बेला अन्धकार लीलाहरु हतारहतार विलीन हुन्छन् र नयाँ संसारको उदय हुन्छ। हामी जनता हौं। जनताले निराश  र हतास हुन जानेको छैन। हामी अझै प्रतीक्षा गर्छौं। भुइँफुट्टाहरुले त धर्र्तीको गरिमा, मानवताको सुन्दर भविष्य केही पनि अनुभूत गर्न सक्दैनन्। हामी भुइँमान्छेहरु अनुभूत गर्न सक्छौं, राम्ररी अनुमान गर्न सक्छौं।

प्रतिक्रिया दिनुहोस्